सुन्दरका इलेक्ट्रीक बस बैशाखदेखि रिङरोडमा, सरकारका ३ सय बस खै ?

काठमाडौं । सुन्दर यातायातले बैशाखदेखि रिङरोडमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । वैशाखभित्र सुन्दर यातायातले आधिकारिक रुपमा विद्युतीय बस गुडाउने भएको हो  । तर सरकारले मन्त्रिपरिषद्को निर्णय मार्फत किन्ने भनेको ३ सय विद्युतीय बस भने कहिले आउँछ भन्ने कुनै टुंगो छैन । 

सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाका अनुसार १५ गते यातायात विभागलाई बस चेकजाचका लागि बुझाइने छ । विभागलाई बस बुझाइए पछि विभागको निर्देशन पश्चात बस सञ्चालनमा ल्याइने थापाले जानकारी दिए । बस चेकजाचका लागि करिब ७ दिन विभागमा राखिने छ । 

हाल सुन्दर यातायातसँग २ वटा विद्युतीय बस ग्यारेजमै रहेको छ । थप ५ वटा विद्युतीय बस आउने क्रममा रहेको थापाले बताए । ‘यातायात व्यवस्था विभागले स्विकृती दियो भने हामी ७ वटै बस वैशाख भित्र सञ्चालनमा ल्याउछौँ,’ थापाले मेरोअटोसँग भने । 

उनले चार्जिङ स्टेशन समेत सुकेधारामा रहेको आफ्नो ग्यारेजमा जडान गर्ने काम सम्पन्न भइसकेको जानकारी दिए । विद्युत वितरणको लागि प्राधिकरणसँग कुरा भइसकेको उनले बताए । विद्युत ल्याउने इस्टिमेट भइसकेको र त्यसलाई अब मेसिनमा जडान गर्न मात्र बाँकी रहेको उनले जानकारी दिए । 

‘हामीले मेसिन फिक्स जडान गरिसकेका छौँ अब लाइन राख्न मात्र बाँकी छ,’ थापाले भने । सुन्दर यातायातले साढे २ महिना अघि नै मेसिन ल्याएर राखेको थियो ।

सुन्दर यातायातका विद्युतीय बस रिङरोडमा सञ्चालन गरिने छ । तर सरकारले ३ सय वटा विद्युतीय ठूला बस किनेर बैशाख १ देखि सञ्चालन गर्ने भनेको थियो । बैशाख १ देखि सञ्चालन त परै जाओस सरकारले विद्युतीय बस खरिदका लागि टेण्डर समेत गरेको छैन । 

सुन्दर यातायातले रिङरोड बाहेक अन्य कुन कुन ठाउँमा बस सञ्चालन गर्न सकिन्छ, त्यसका लागि विभागसँगै समन्वयन गरेर रुट निश्चित गरिने थापाले बताए । उनले विद्युत प्राधिकरणले विद्युतको मूल्य प्रति युनिट २५ रुपैयाँ लिए रिङरोड परिक्रमा गरेको भाडा १८ रुपैयाँ अथवा प्रति युनिट ३० रुपैयाँ लिएको खण्डमा २३ रुपैयाँ भाडा लिइने बताए । 

थापाले सरकारले नियम कानुनमा सहजीकरण गरे सुन्दर यातायातले २५ देखि ३० वटा विद्युतीय बस चालू आर्थिक वर्षभित्र ल्याउने बताए । 


Back_to_top