काठमाडौं । मारूती सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो सर्वाधिक सफल सब फोर मिटर कम्प्याक्ट एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडलको बुकिङ लिन थालेको छ । कम्पनीले फागुन महिनाको अन्त्यसम्ममा बिक्री शुरू गर्न लागेको ब्रेजा विभिन्न ४ भेरियन्टमा उपलब्ध हुने भएको हो ।
सुजुकीले यसअघि ब्रेजाको वेस भेरियन्ट नेपाल ल्याएको थिएन । यस पटक भने ब्रेजा एलएक्सआई नेपाल ल्याएको हो । त्यसैले यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिन थालेको छ ।
ब्रेजा सेग्मेन्टमै सबैभन्दा ठूलो इन्जिन भएको कारण धेरैले मनपराएको मोडल हो । नयाँ जेनेरेशनमा पनि मारुती सुजुकीले पुरानै इन्जिनलाई निरन्तरता दिएको छ । यसमा १.५ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिन पाउन सकिन्छ । अहिले थप माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण माइलेज पहिलेभन्दा धेरै आउने कम्पनीले जनाएको छ ।
इन्जिनको अलावा मारुती सुजुकी ब्रेजामा फ्रन्ट र रियर डिजाइन, इन्टेरियर र सुरक्षा फिचरमा विशेष परिमार्जन भएर आउन लागेको छ ।
मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रृन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड-अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरब्याग दिइएको छ ।
नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, डुअल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ ।
अहिले सिजी मोटोकर्पले विभिन्न तीन भेरियन्टमा ब्रेजा बिक्री गर्दै आएको छ । अहिलेको सबैभन्दा सस्तो भेरियन्ट भिएक्सआईको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ । त्यसपछि जेडएक्सआई प्लसको ४८ लाख ९९ हजार र जेडएक्सआई प्लस ड्यूल टोनको मूल्य ४९ लाख २९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गरिरहेको छ ।
नयाँ जेनेरेसन ब्रेजाको एलएक्सआई भेरियन्टको मूल्य ४१ लाख ९९ हजार, भीएक्सआई भेरियन्टको मूल्य ४६ लाख ९९ हजार निर्धारण गरेको छ ।
त्यसैगरी, जेटएक्सआई भेरियन्टको मूल्य ४९ लाख ९९ हजार, जेटएक्सआई प्लस भेरियन्टको मूल्य ५७ लाख ३९ हजार रुपैयाँ कायम गरेको छ । जेडएक्सआई प्लस डुअल टोन भेरियन्टको मूल्य भने ५७ लाख ६९ हजार रुपैयाँ पर्नेछ ।
भारतमा करिब ६ महिना अघि नै विक्री सुरू भएको नयाँ ब्रेजा आयात प्रतिबन्धको कारण नेपाल आउन पाएको थिएन ।


