काठमाडौं । रतन टाटाको ड्रिम प्रोजेक्ट मानिएको नानो कार बन्द भएको केही वर्ष भइसकेको छ । कम्पनीले नानोलाई सन् २००८ बाट उत्पादन थालेर २०१८ मा बन्द गरेको थियो ।
विशेषगरी भारतमा मोटरसाइकलको मूल्यमा जनतालाई गाडी चढाउने योजना मुताविक रतन टाटाले तयार पारेको योजना क्रमिकरुपमा असफल बन्दै गएपछि उत्पादन बन्द गरिएको हो । अहिले भारतमा साना सिटी कारको रुपमा ईभीको विकास सुरु भएसँगै टाटाले नानो ईभी ल्याउन लागेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।
पछिल्ला दिनमा टाटाले नेक्सन, टिगोर र टियागो जस्ता मोडल ईभीमा ल्याइसकेको छ । आफ्नो कम्बस्चन इन्जिन भएका सबै गाडीलाई ईभी बनाउने योजना मुताविक कम्पनीले धमाधम ईभी उत्पादन गरिरहेको छ ।
साथै, टाटाले कर्भ, अभिन्या जस्ता कन्सेप्ट सार्वजनिक गरेर आफ्नो ईभी यात्रा निकै तिब्र रफ्तारमा दौडिएको प्रमाणित गरिसकेको छ । यस्तोमा सहरी क्षेत्रलाई ध्यानमा राखेर टाटा नानो ईभी ल्याउन लागेको मिडिया रिपोर्टहरुले दावी गरेका हुन् ।
फोर्डसँग किनेको नयाँ प्लान्टबाट कम्पनीले ईभी उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यही लक्ष्यलाई पुरा गर्न र ईभीमा आफ्नो पकड बलियो बनाउन टाटाले नानो ईभी ल्याउन खोजेको टाइम्स अफ इन्डियाले प्रकाशन गरेको रिपोर्टमा दावी गरिएको छ ।
टाटाले नानोमा कुन साइजको ब्याट्री र मोटर्स प्रदान गर्छ भन्ने विषय उल्लेख नभएपनि नानोको प्लेटफर्म र ह्वीलवेस भने परिवर्तन हुनेछ । यसले सहरी क्षेत्रमा यात्रा गर्न ईभी चाहनेहरु आवश्यकता पुरा गर्न सक्नेछ ।


