काठमाडौं । नेपाली बजारमा २०७६ सालमा सबैभन्दा बढी चर्चामा इलेक्ट्रीक कार रहन सफल भएका थिए । २०७७ साल कोरोनाको कारण कसरी अगाडि बढ्छ भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । यद्यपी, कडाउनको कारण विश्व वातारणमा आएको सुधारसँगै इलेक्ट्रीक सवारीसाधनको माग र उत्पादन बढ्ने कुरामा दुईमत हुनै सक्दैन ।
२०७७ सालमा नेपाली बजारमा रहेका चल्तीका इलेक्ट्रीक कार र एसयूभीलाई टक्कर दिन टाटाले आफ्नो पहिले सव फोर मिटर इलेक्ट्रीक एसयूभी बजारमा उतार्ने पक्का छ । यस्तोमा बजारमा आउने पहिलो सब फोर मिटर एसयूभीमा नेक्सनले धेरैको ध्यान खिच्ने पक्का जस्तै देखिएको छ ।
नेक्सन इभीको सबैभन्दा सबल पक्ष यसको ग्राउन्ड क्लियरेन्स रहेको छ । कम्पनीले यसमा रेगुलर मोडलको जस्तै २०९ एमएमको ग्राउन्ड क्लियरेन्स दिएकाले यो बजारमा उपलब्ध अहिलेसम्म कै उच्च ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रीक कार हो ।
भारतमा डिसेम्बर १९, २०१९ मा नै सार्वजनिक भएको यो कार बिक्री सुरु हुनैलाग्दा कोरोना भाइरसको कारण सृजित समस्याको कारण बिक्री सुरु हुन पाएको छैन ।
यस्ता छन् फिचर
कम्बस्चन इन्जिनयुक्त नेक्सन कै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ ।
जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा झन्डै ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने एआरएआईले जनाएको छ । यसमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेनसिटी लिथियम आयान ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।
यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चर्जरबाट ८ घण्टा लाग्छ भने डिसी फास्र्टचार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा दिइएको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ ।
सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ । भने टाटाको एसयूभीमा पहिलोपटक इलेक्ट्रीक सनरुफसमेत दिइएको छ ।
टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई नेपाली बजारमा ल्याउने बताइसकेको छ । नेपालमा यसको मूल्य ३५ देखि ४० लाखसम्म रहने अनुमान गरिएको छ ।


