भन्सार र पूर्वाधार कर ५०% छुट दिँदा कति सस्तिन्छ इन्धनको भाउ ?

काठमाडौं । सरकारले पेट्रोलिय पद्धार्थमा लाग्ने करमा छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यो सूचना राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ । यद्यपि, सरकारले कर छुट दिए पनि त्यसको लाभ उपभोक्ताले पाउने सम्भावना भने कम छ । किनभने निगमले हाल दैनिक ७८ कराेड रुपैयाँ घाटा खाएरै इन्धन बेचिरहेको छ । यो निर्णयले  निगमको घाटा कम गर्न भने सहयोग पुग्ने देखिन्छ ।

नेपाल आयल निगमका अनुसार हाल पेट्रोलमा २५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ भन्सार शुल्क लाग्दै आएको छ । यसमा सरकारले ५० प्रतिशत छुट दिँदा अब पेट्रोलमा प्रतिलिटर १२.५ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ मात्रै भन्सार लाग्ने छ ।

त्यस्तै, हाल पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ । यसमा ५० प्रतिशत छुट हुँदा अब प्रतिलिटर ५ रुपैयाँ मात्र कर लाग्ने छ ।

सिधा हिसाबमा कर छुट दिँदा पेट्रोलमा प्रतिलिटर १७.५ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ कर घट्ने देखिन्छ । सरकारले भन्सार शुल्क जोडर आउने मूल्यमा १३ प्रतिशत भ्याट लगाउँछ । भन्सार दर घट्दा कम मूल्यमा भ्याट लाग्छ । यसो गर्दा थप केही मूल्य सस्तिने देखिन्छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सरकारले पेट्रोलियम पद्धार्थमा लाग्ने भन्सार शुल्क र पूर्वाधार कर घटाउनु सुखद रहेको बताए । यसले निगमको घाटा कम गर्न सहयोग पुग्ने उनले बताए ।

उनले अहिल्यै पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर कति सस्तिन्छ भन्न नसक्ने बताए । उनले मन्त्रिपरिषद्को आधिकारिक निर्णय निगममा आएपछि हिसाब गरेर हेर्दा मात्रै घट्ने मूल्य थाहा हुने बताए ।

‘सरकारले पेट्रोलियम पद्धार्थमा लाग्ने भन्सार र पूर्वाधार कर घटाएको छ । यो सुखद हो,’ उनले मेरोअटोसँग भने, ‘अहिल्यै प्रतिलिटर कति मूल्य घट्छ भन्न सकिँदैन । क्याबिनेटको निर्णय औपचारिक रूपमा आइसके पछि हिसाब गरेर हेर्दा मात्रै वास्तविक घट्ने मूल्य थाहा हुन्छ ।’

प्रवक्ताका ठाकुरका अनुसार निगमलाई हाल पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँ घाटा छ । समग्रमा निगमलाई दैनिक ७८ करोड घाटा रहेको उनले बताए ।

अहिल्यै नै घाटामा इन्धन बेचिरहेकाले थप मूल्य छुट दिन सक्ने सम्भावना कम रहेको उनले बताए । यद्यपि, यसबारे बोर्ड बैठकले निर्णय गर्ने उनले बताए ।

‘निगमलाई अहिल्यै पेट्रोलमा ३४ र डिजेलमा १२० रुपैयाँ घाटा छ । समग्रमा दैनिक ७८ करोड घाटा छ । यस्तोमा इन्धनको मूल्यमा थप छुट दिन सक्ने अवस्था कम छ,’ उनले भने, ‘संचालक समितिको बैठकपछि मात्रै यसबारे निर्णय हुन्छ ।’

मध्यपूर्वमा चर्किएको द्धन्नका कारण पछिल्लो समय पेट्रोलियम पद्धार्थको मूल्य ह्वात्तै बढेको छ । तीन सातामै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ र डिजेलमा ४० रुपैयाँ मूल्य बढिसकेको छ । हाल पेट्रोलको मूल्य २०२ रुपैयाँ र डिजेलको १८७ रुपैयाँ छ ।


Back_to_top