काठमाडौं । विश्व अटोमोवाइल क्षेत्रमा नयाँ युद्ध सुरु भएको छ । न्यू इनर्जी भेहिकलले परम्परागत पेट्रोल कारको दुरदसा देखाउन थालेको केही वर्ष भयो ।
जापानीज कार उत्पादकहरुले दक्षिण पूर्वी एशियाको बजार कब्जा गर्न थाइल्याण्डलाई रणनीतिक महत्वको क्षेत्र बनाएर विगतदेखि कार उत्पादन गर्दै आएका थिए । दुई वर्ष अघिसम्म टोयोटा, होण्डा, निसान, माज्दा, सुबरु, इसुजु, सुजुकी जस्ता ब्राण्डले कब्जा जमाएको बजारमा नयाँ चिनियाँ ब्राण्डहरुले आफ्नो वर्चश्व कायम गर्न थालेका छन् ।
चिनियाँ अटोमोवाइल कम्पनीहरु होजोन अटो, चांगान र बीवाइडीले थाइल्याण्डमा आफ्नो प्लान्ट संचालनमा ल्याइसकेका छन् । सन् २०१८ देखि नै एमजी थाइल्याण्डको बजारमा छ । त्यस्तै ग्रेटवाल मोटर्स पनि थाइल्याण्डमा प्लान्टसहित उत्पादन गर्दै आएको कम्पनी हो ।
अहिले जिली, जिकर, चेरी, ओमोडा, नियो, एक्सपेङ जस्ता ब्राण्डहरु थाइल्याण्डमा प्लान्ट लगाउन योजना बुनिरहेका छन् ।
जर्मन कम्पनीहरु बीएमडब्लू, फक्सवागेन, मर्सिडिज, कोरियन हुन्डाई र अमेरिकन ब्राण्ड फोर्डले पनि थाइल्याण्डमा आफ्नो उत्पादन बेस बनाएको छ ।
विशेषत साउथ इस्ट एसियाका राइट ह्याण्ड ड्राइभ सिस्टम भएका देशहरुलाई लक्षित गरी हरेक निर्माताले थाइल्याण्डमा उत्पादन प्लान्ट लगाएको सहजै बुझ्न सकिन्छ ।
पछिल्लो समयमा जापनीज अटोमोवाइल ब्राण्डहरुले पनि थाइल्याण्डमा आफ्नो लगानी व्यापक बढाउने निर्णय गरेका छन् । टोयोटा मोटर्सले थाइल्याण्डमा थप ५० अर्ब भाट लगानी गर्ने भएको छ । इसुजुले ३० अर्ब तथा मित्सुबिसी मोटर्सले २० अर्ब थप लगानी गर्ने जनाएका छन् ।
यी सबै कम्पनीहरुले इलेक्ट्रीक भेहिकल बनाउन उक्त लगानी थप्न लागेका हुन् । केहि वर्षयता दक्षिणपूर्वी एशियामा बढ्दो इलेक्ट्रीक भेहिकलको बजार विस्तारसँगै जापनीज ब्राण्डहरु ईभी निर्माणमा केन्द्रित भएका हुन् ।
थाइल्याण्ड साउथ इष्ट एशिया रिजनको दोस्रो ठूलो इकनोमी र ठूलो कार उत्पादक देश हो । त्यसैले यहाँ हरेक उत्पादक आफुलाई बलियो बनाउन चाहन्छन् । अमेरिकी ईभी कम्पनी टेस्लाले समेत थाइल्याण्डमा आफ्नो उत्पादन प्लान्ट लगाउने योजना बनाइरहेको खवरहरु बेलाबेला बाहिर आउने गरेका छन् ।


