काठमाडौं । विक्रम सम्बत २०८० साल हामीबाट विदा भइसकेको छ । समग्र अटोमोवाइल क्षेत्रको लागि औषत वर्ष भएपनि ईभीको लागि उत्कृष्ट सावित भयो ।
विद्युतीय कार बजारमा ईभीको बिक्रीले नयाँ उचाई छोयो । झण्डै ८ हजार यूनिट बिद्युतीय कार २०८० को एक वर्षमा आयात भयो । अहिले पनि ईभी आयात निरन्तर बढी रहेको छ ।
नयाँ उत्पादनसँगै ईभी ब्राण्डको आयात पनि निकै तिब्र गतिमा बढेको छ । २०८० सालमा सेरेस, जीएसी एवोन, दिपल, ओमोडा जस्ता ब्राण्ड नेपाल आए । अझ एजेन्सी हस्ताक्षरको मामलामा गतवर्ष उत्कृष्ट रह्यो ।
विशेषगरी सिजी ग्रुपले एक्सपेङ, लोटस, स्मार्ट जस्ता ब्राण्ड ल्याउन हस्ताक्षर गरेको थियो । लिप मोटर्स, विलिङ, नामी जस्ता ब्राण्डले पनि आधिकारीक बिक्रेता नयाँ तोकेका छन् । समग्रमा २०८० साल विद्युतीय कारको लागि उत्कृष्ट रह्यो ।
विगतदेखि नेपाली बजारमा उपलब्ध बीवाइडीले आफुलाई बलियोसँग स्थापित गर्यो । बीवाइडी एटो थ्री २०८० को बेष्ट सेलिङ मोडल बन्यो । टाटाले टियागो ईभी ल्याएर आफ्नो बजार हिस्सा कायम राख्दा सुजुकी र हुन्डाईले समग्रमा आफ्नो ठूलो बजार हिस्सा गुमाए ।
विगत एक वर्ष पुरै चिनियाँ निर्माताले नेपाली बजार कब्जा गरेभन्दा फरक पर्दैन । वर्षको सुरुवातमा रहेको ३–४ प्रतिशत बजार हिस्साबाट एकै पटक करिब ४२ प्रतिशत बजार हिस्सा चिनियाँ कम्पनीहरुले पुर्याए । यसले चिनियाँ कारलाई बजारले सहजै स्विकार गरेको देखियो ।
नयाँ वर्ष सुरु भएको छ । यस्तोमा नयाँ ब्राण्डको दबदवा बढेर जाला वा पुराना स्थापित कम्पनीहरुले कम्ब्याक गर्लान् भन्ने चासो धेरैमा पाइन्छ । यतिसम्म की गाडी बिक्रेताहरु पनि यसमा अन्योल नै देखिन्छन् ।
तर, एकिन साथ भन्न सकिन्छ । विद्युतीय कारको बजार घट्दैन । केही ब्राण्ड बन्द होलान्, केही ब्राण्डका उत्पादनले गतिलो सर्भिस सुविधा नपाउलान् । तर, विद्युतीय कारको बिक्री बढ्छ र चिनियाँ उत्पादनले आफुलाई स्थापित गराउने छन् ।
जेहोस् २०८१ मा साना ठूला गरी दुई दर्जन मोडलहरु नेपाल आउने छन् । जसमा भारतमा बनेका कारहरुको संख्या पनि बढ्ने छ । सुजुकीको ईभीएक्स, हुन्डाई क्रेटा, किया ईभी फाइभ, नयाँ टाटा नेक्सन ईभी, पन्च ईभी, कर्भ ईभी, नयाँ कोना इलेक्ट्रीक जस्ता मोडलहरु चीनभन्दा बाहिरबाट आउने छन् ।
चीनबाट आउने मोडलहरुको संख्या हाम्रो अनुमानभन्दा बढी हुनसक्छ । त्यसैले सन् २०८१ पनि विद्युतीय गाडीको नाममै रहने पक्का छ ।

