दिगोले ईभीको सर्भिस नदिएर ३ वर्षदेखि ‘रन्थनिएका’ वीरबहादुर

काठमाडौं । तीन वर्ष अगाडि कैलालीको गोदावरी पुल नजिक गेटा भन्ने स्थानमा एउटा सवारी  दुर्घटना भयो । उक्त दुर्घटनामा २० सिट क्षमताको इलेक्ट्रीक माइक्रोबस परेको थियो ।

दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११६६ नम्बरको बस दिगो ग्रुपले बिक्री गरेको थियो । जोइलङ ई-६ बस दुर्घटनामा मोटर र ब्याट्री केही नभएको भन्दै दिगोले मर्मत गर्न सकिने भन्दै इन्स्योरेन्स कम्पनीले जानकारी दियो । त्योसँगै बीमा कम्पनीले गाडीको कोटेशन लियाे र  दुर्घटना भएको गाडी बनाउन भन्दै काठमाडौं ल्याइयो । अहिले कम्पनीले ४० लाख रुपैयाँ गाडी बनाउन लाग्ने जानकारी दिएको विष्टले जानकारी दिए ।

‘मेरो गाडी दुर्घटनामा परेको ३६ महिना भयो । अहिलेसम्म गाडी बनाएर दिएको छैन । अब त फोन गर्दा उठाउन पनि छाडे । झुक्केर उठाए भने एक महिनामा गाडी पाउनुहुन्छ भन्छन् । त्यस्ता एक महिना कति गयो, गयो । ३६ महिना भयो,’ गाडीधनी वीरबहादुर विष्टले मेरोअटोसँग भने ।

गाडी मर्मतको लागि पठाउँदा ३ लाख रुपैयाँ एड्भान्स पनि दिएको बताउँदै उनले भने, ‘गाडी पनि थन्कियो, पैसा पनि लगे । अहिले आफूसँग केही छैन । बैंकको किस्ता पनि बुझाइ रहनुपरेको छ ।’

उनले जोइलङ ई-६ मिनी बस ८७ लाख ५० हजार रुपैयाँमा खरिद गरेका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कन्चनपुर शाखाबाट कर्जा लिएर गाडी किनेका उनले अहिलेसम्म पनि निरन्तर किस्ता तिरिरहेको बताए ।

‘गाडी इन्स्योरेन्समा ‘फुल लस’ गर्न पनि दिएनन् । बनाएर पनि दिएनन् । मलाई आर्थिक रूपमा ठूलो संकटमा पारे । कम्पनीले कहिले गाडी दिन्छ, त्यो पनि भन्दैन,’ विष्टले भने ।

ईभी सर्भिसमा चुनौती बढ्दै

विद्युतीय गाडी ल्याएर बिक्री गर्ने तर, सर्भिस नदिने बजारमा पुरानो रोग बन्दै गएको छ । त्यसमा पनि कमजोर पूर्वाधार भएका बिक्रेतासँग गाडी किन्ने उपभोक्ता ठगिनु पर्ने अवस्था छ ।

धेरै ठूलो संख्यामा गाडी बिक्री गर्नेहरूको पनि सर्भिस चुस्त बन्न सकिरहेको छैन । नयाँ टेक्नोलोजी भएको कारण दक्ष जनशक्तिको अभाव, पार्टसको उपलब्धतामा समस्या जस्ता कारण उपभोक्ता समस्यामा परिरहेका छन् ।


Back_to_top