नेपालमा धेरै बिक्ने कार कम्पनीनै ल्याउँदै छन् ७ नयाँ इलेक्ट्रीक कार (मूल्यसहित)

काठमाडौं । नेपाली सडकमा इलेक्ट्रीक कारको उपस्थिति सामान्य र नगन्य मात्रामा भएपनि अबको केही समयमा इलेक्ट्रीक कारको संख्या निकै वृद्धि हुने देखिन्छ । नेपालीहरुको रोजाईमा रहेका होन्डाई, मारुती सुजुकी, टाटा, रेनो, निसानलगायतका कार निर्माता कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर इलेक्ट्रीक कारहरु ल्याउने घोषणा गरेका छन् । 

सरकारले ग्यासोलिन कारमा वृद्धि गरेको करका दर र इलेक्ट्रीक सवारी साधनमा दिएको छुटका कारण नेपाली बजारमा इलेक्ट्रीक कारको बिक्री बढ्ने निश्चित छ । अबको केही बर्षमा नेपालको आफ्नै बिजुली उत्पादन माग अनुरुपहुने अबस्था आउने क्रममा रहेको र यस्ता सवारीसाधनले आफ्नै इन्धनको प्रयोग गर्ने हुनाले यसको संभावना धेरै रहेको पाइन्छ । 

अबको ढेड बर्ष भित्रमा करिब १५ वटा इलेक्ट्रीक कार बजारमा आउनेगरी कार निर्माता कम्पनीहरुले काम गरिरहेको बताइएको छ । त्यसमा सबैभन्दा धेरै कार टाटाले ल्याउने तयारी  गरेको छ भने सबैभन्दा कम मारुती सुजुकीले घोषणा गरेको छ । 

टाटा टिगोर इभी


टाटा मोटर्सले दिल्ली अटो शोमा शोकेस गरेको टिगोर इभीलाई २०१९ को सुवातमा नै बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले महेन्द्रासँग मिलेर भारतीय सरकारी कार्यालयलाई इलेक्ट्रीक कार सप्लाइ गर्ने समक्षौंता गरेको छ । कम्पनीले अहिले ३५० यूनिट कार बनाएर बजारमा पठाईसकेको छ भने अब २०१९बाट ब्यवसायीक उत्पादन सुरु गर्नेछ । 

टाटा टिगोर इभीमा २१६ एम्पाएर क्षमताको १६ भोल्टको ब्याट्री प्रयोग गरिने छ । जसले सहयोगले यसको मोटरले ३९.९५ एचपी पावर जेनेरेज गर्ने छ । एक पटकको फुलचार्जमा १३० किलोमिटरको यात्रा गर्न सकिने यो कारको सुन्यबाट ८० प्रतिशतसम्मको चार्जगर्न करिब ९० मिनेट लाग्ने छ । फुल चार्जको लागि भने ३ घन्टा लाग्ने टाटा मोटर्सले जनाएको छ । कम्पनीले यसलाई भारतीय बजारमा १० देखि ११ लाखको बीचमा मूल्य रहनेगरि सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

हुन्डाई कोना 


दक्षिण एसियाली बजारमा आउने कोना इलेक्ट्रीकले एकपटकको फुलचार्जमा ३०० किलोमिटर माइलेज दिनेछ । त्यसको लागि यसमा ३९.२ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । 

यसमा दिइएको इलेक्ट्रीक मोटरले १३४ एचपीपावर र ३९५ एनएम टर्क उत्पादन गर्छ भने, यो कारले ९.७ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्छ । यो कारको टप स्पीड १५५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

कोना इलेक्ट्रीकमा लिथियमआयन ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको चार्जर प्रयोग गरिएको छ । साथै, स्ट्याण्र्डर्ड एसी चार्जबाट रिचार्ज गर्ने हो भने ६ घन्टा समय लाग्नेछ । यसको भारतीय बजारमा २२ लाख भारतीय रुपैयाँ मूल्य रहने अनुमान गर्न सकिन्छ । 

हुन्डाई मोटरको लागि नेपालको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले हुन्डाई कोना इलेक्ट्रीक ल्याउने तयारी गरिरहेको जनाएको छ । २०१८को अन्त्यसम्ममा नै कोना नेपाली बजारमा आउने छ । 

निसान लिफ 

निसान लिफ युरोपियन बजारमा २ लाख ५० हजार युनिट बिक्री भइसकेको कार हो । यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले १४७ एचपी र ३२० एनएम टर्क उत्पादन गर्छ । निशान इपीएले यस कारले एक पटकको फुलचार्जमा २३५ देखि २४२ किलोमिटर माइलेज दिने जनाए पनि निसान युरोपले ३७८ किलोमिटर माइलेज दिने जनाएको छ । 

यसमा दिइएको ३ किलोवाट ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाटको लागि ८ घन्टा लाग्ने छ । यसको क्विक चार्जिङ प्लगइनको प्रयोगबाट ४० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले दाबी गरेको छ । भारतीय बजारमा २०१८ मा नै सार्वजनिक गर्ने तयारी गरिएको यो कारको मूल्य करिब २० लाख भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । 

टाटा टियागो इभी


टाटा मोटर्सले इन्ट्रिलेवलको इभीको रुपमा टियागोलाई ल्याउने भएको छ । २०२०मा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी सहित निर्माणमा जुटेको यस कम्पनीले यो कार टाटाको युके वेसमा आधारित भएर निर्माण गरिरहेको जनाएको छ ।

८५ किलोवाट क्षमताको मोटर लगाइएको यो कारको टप स्पिड १३५ किलो मिटर रहने छ भने यसले २०० एनएम टर्क उत्पादन गर्छ । करिब ११ सेकेन्डमा यो कारले सुन्यदेखि १०० किलोमिटरको गति पकडन सक्छ । यो सिंगल स्पिड ट्रान्समिसन  दिइने छ जसले अगाडिको ह्वीलमा शक्ती प्रदान गर्नेछ । 

यसको मूल्य भारतीय बजारमा ८ लाख देखि १० लाखको बीचमा रहने अनुमान गरिएको छ । टियागो इभीलाई पनि कम्पनीले दिल्ली अटो शोमा प्रदर्शनी गरेको थियो ।  

महेन्द्र केयुभी १०० इभी


रेभा कम्पनीलाई एक्वयर गरेर इलेक्ट्रीक कार उत्पादन सुरु गरेको महेन्द्राले पछिल्लो समय ई भेरिटोको उत्पादन गरेको छ भने केही यूनिट सडकमा गुडिरहेको छ । इटुव कारलाई ५ वर्ष अगाडी बजारमा उतारेर इलेक्ट्रीकको संभावना खोजिरहेको महेन्द्राले आफ्नो केयूभी १०० लाई इलेक्ट्रीकमा ल्याउने भएको छ । 

कम्पनीले कारको फिचरको विषयमा अहिले आधिकारीक जानकारी नदिइएपनि सन् २०२०मा बजारमा ल्याृने तयारी गरिरहेको जनाइएको छ । यसको भारतीय बजारमा ७ देखि ९ लाख रुपैयाँको बीचमा रहने अनुमान गरिएको छ । 

रेनो जोइ इभि


रेनोले आफ्नो सानो ह्याचब्याकलाई इलेक्ट्रीक भर्सनमा युरोपियन बजारमा उतारेको छ । कम्पनीले यो सानो कारलाई भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ । यो कारमा २ किसिमको इलेक्ट्रीक मोटर लगाइएको छ । जसलाई आर ९० र क्यू ९० नामा करण गरिएको छ । 

आर ९० मोटरले ९२ पीएस पावर र २२५ एनएम टर्क उत्पादन हुन्छ । क्यू ९० मोटरले ८८ पीएस पावर र २२० एनएम टर्क उत्पादन गर्छ । कम्पनीले ब्याट्री चार्जमा छिटो चार्ज र साधारण चार्ज दुई अप्सन दिएको छ । 

यसलाई भारतीय बजारमा २०२० सम्ममा सार्वजनिक गर्ने रेनोले तयारी गरिरहेको छ । यसको भारतीय बजारमा मूल्य १० देखि १४ लाख भारुको बीचमा रहने अनुमान गरिएको छ । 

मारुती सुजुकी वागेनआर इभी


मारुती सुजुकीले वागेनआर इभीलाई सन् २०२० सम्ममा बजारमा सार्वजनिक गर्ने तयारी गरिएको बुझिएको छ । टोयोटासँगको सहकार्यमा यसलाई कम्पनीले उत्कृष्ट इभी उत्पादन गर्ने अनुमान गरिएको छ । मारुती सुजुकीको नयाँ गुजरात प्लान्टबाट इभीको उत्पादन गर्ने बुझिएको छ । 

यसलाई सुजुकी, तोसिवा र डेस्नो कम्पनी बीचको सहकार्यमा यो इभी उत्पादन गर्ने तयारी भइरहेको जनाइएको छ । कम्पनीले यस इभिको मूल्य ५ देखि ८ लाख बीचमा रहने अनुमान गरिएको छ । यसमा प्रयोग हुने ब्याट्री र मोटरको बिषयमा कम्पनीले केही बोलेको छैन । 

यी बाहेक हुन्डाई आयोनिक, टाटा इ कन्सेप्ट, निसान नोट इ–पावर, रेनो क्विड, टाटा नेक्सन इभीलगायतका कार इलेक्ट्रीकमा आउने क्रममा रहेका छन् । 


Back_to_top