नयाँ इलेक्ट्रीक कार किन्दा हेर्नै पर्ने ७ कुरा, नत्र ठगिने ‘चान्स’ धेरै

काठमाडौं । अब ईभी र आइसीई इन्जिन भएका गाडी मध्ये कुन ठिक भन्ने विषयमा छलफल धेरै जरुरी छैन । नेपालमा पछिल्ला चार वर्षमा जति ईभीको बिक्री भएको छ, त्यसले आफूलाई पुष्टि गरिसकेको छ ।

अहिले बजारमा करिब चार दर्जन ब्राण्डले विद्युतीय कार बिक्री गर्दै आएका छन् । औसत वार्षिक १३ हजार युनिट कार बिक्री हुने बजारमा गाडी बेच्न आएका सबै ब्राण्डले राम्रो गर्न सक्ने अवस्था छैन । त्यसैले केही ब्राण्डले मात्रै राम्रो बिक्री र बिक्रीपछिको सेवा दिँदै आएका छन् ।

यस्तोमा तपाईंले ईभी किन्ने निर्णय लिएपछि कुन ब्राण्डको किन्ने भन्ने सोच्दै हुनुहुन्छ भने त्यसको लागि धेरै कुरा विचार गर्नु पर्छ । बिक्रेताले भोलिका दिनमा दिने सर्भिस, उसको नेटवर्कको दिगोपन लगायतका कुरामा त ध्यान दिनैपर्छ ।

त्यस बाहेक पनि आर्थिक रूपले सही निर्णय गर्न धेरै कुरामा ध्यन दिनुपर्छ । त्यसैले ईभी किन्ने नयाँ ग्राहकले के के कुरामा ध्यान दिँदा स्मार्ट निर्णय हुन्छ भनेर हामीले यहाँ चर्चा गरेका छौं ।

ब्याट्री साइज र रेन्ज

तपाईंले गाडीको बनोट (एसयूभी, ह्याचब्याक, सेडान वा मिनी कार) अनुसार ब्याट्री साइज र रेन्जलाई पनि ध्यान दिनुपर्छ । ब्याट्री ठूलो प्रयोगगर्दा भोलि फेर्नुपर्दा धेरै खर्च लाग्छ । सानो ब्याट्री भएको गाडी किन्दा रेन्ज नपुग्न सक्छ । त्यसैले ईभी आफ्नो दैनिक यात्रालाई अनुमान गरेर किन्नु पर्छ ।

चार्जिङ स्पीड हेर्ने

डीसी चार्जर सपोर्ट गर्ने भनिए पनि धेरै गाडीले निकै स्लो चार्ज लिन्छ । त्यसैले ईभी किन्दा कम्तीमा ५० किलोवाटभन्दा माथिको डीसी चार्जर सपोर्ट गर्न सक्ने हुनुपर्छ । एसी चार्जरको हकमा पनि ७ वा ११ किलोवाटसम्म सपोर्ट गर्ने छान्दा पछि पछुताउनु पर्दैन ।

ग्राउण्ड क्लियरेन्स

नेपालका सडक तपाईं हामीलाई थाहानै छ । कच्ची र पक्की बाटोमा पनि खाल्डाखुल्डी भएका स्थानमा चलाउन कम्तीमा १७० देखि २०० एमएमसम्म अग्लो ग्राउण्ड क्लियरेन्स भएको गाडी छान्नुहोस् । साथै, सस्पेन्सन पनि परीक्षण गरेर मात्रै निर्णय लिनु वुद्धिमत्ता मानिन्छ ।

ब्याट्री र मोटर वारेन्टी

अहिले बजारमा ब्याट्रीमा वारेन्टी दिएको विषयमा छलफल हुन्छ । ब्याट्री जत्तिकै मोटर पनि महत्वपूर्ण र धेरै खर्च लाग्ने पार्ट्स हो । त्यसैले मोटरको वारेन्टी पनि बुझेर किनौं ।

मूल्य र रिसेल भ्यालू

अहिलेसम्म विद्युतीय कारको रिसेल मूल्य राम्रो बन्न सकेको छैन । संख्यात्मक रूपमा ईभीको संख्या बजारमा बढिसकेको कारण अब रिकण्डिसन मार्केटमा राम्रो मूल्य आउन सक्ने ब्राण्डको गाडी छान्नु उपयुक्त हुन्छ । साथै, निकै राम्रा गाडी कम मूल्यमा उपलब्ध भएको कारण एक दुई ब्राण्डमा छान्ने, मूल्य बार्गेनिङ गर्ने र खरिद निर्णय लिएको खण्डमा राम्रो हुन्छ ।

न्यूनतम सुरक्षा फिचर

सकभर ग्लोबल एनक्यापले गर्ने क्र्यास टेस्टमा कम्तीमा फोर वा फाइभ स्टार रेटिङ पाएको गाडी छनोट गर्नुपर्छ । एडास लेभल टु, ३६० डिग्री क्यामेरा र चारै चक्कामा डिस्क ब्रेक भएको ईभी किन्न उपयुक्त हुन्छ ।

ब्याट्री सुरक्षा

विद्युतीय गाडीको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै ब्याट्री र त्यसको सुरक्षा हो । त्यसैले आइपी ६७ वा आइपी ६८ वाटर प्रुफ भए/नभएको हेरेर गाडी किन्नुपर्छ । साथै, रिजेरेटिभ ब्रेकिङ सिस्टम राम्रो भएको गाडी छान्न सक्ने हो भने पर्फेक्ट ईभी पर्नेछ ।


Back_to_top