उपत्यकामा ट्राफिक लाइट निर्माण तिब्र, यी ८ स्थानमा काम हुँदै

काठमाडौं । सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले काठमाडौंका ८ स्थानमा ट्राफिक लाइट राख्ने काम सुरु गरेको छ । उक्त कार्यका लागि पुस १२ गते प्रजिल कन्स्ट्रक्सनले काठमाडौं उपत्यकाका ८ स्थानमा ट्राफिक लाइट राख्ने टेन्डर पाएको थियो ।

सडक सुरक्षा तथा ट्राफिक शाखाले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर प्रजिल कन्स्ट्रक्सनलाई दिएको हो । शाखाकाअनुसार ८ स्थामा १० वटा ट्राफिक लाइट राख्ने कार्य सुरु भएको छ ।

हाल उपत्यकाका सिंहदरबार, पद्मोदयमोड, तिनकुने, कालिमाटी, मित्रपार्क, गौशाला, बागबजार र पुरानो बानेश्वरमा ट्राफिक लाइट राख्न लागिएको शाखाका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीले जानकारी दिए ।

‘काम सुरु भइसकेको छ, अहिले ट्राफिक लाइट किन्ने र राख्ने ठाउँको निरीक्षण गर्ने काम भइरहेको छ,’ बाराहीले मेरोअटोसँग भने ।

यस्तै, प्रजिल कन्स्ट्रक्सनका प्रमुख रामचन्द्र खड्काले अबको १५ दिनमा सडकमा ट्राफिक लाइट राख्ने काम सुरु हुने जानकारी दिए ।

उनकाअनुसार फिल्डमा काम सुरु भएको २ महिनामा ट्राफिक लाइट राख्ने काम सम्पन्न हुनेछ ।

‘हामीले १५ दिनभित्र आन्तरिक काम सकेर फिल्डमा लाइट जडान गर्ने काम सुरु गर्नेछौँ, सुरु गरेको २ महिनामा काम सकिन्छ,’ खड्काले मेरोअटोसँग भने ।

यही चैतको पहिलो वा दोस्रो साताभित्र ८ वटै स्थानमा ट्राफिक लाइट बल्ने उनले जानकारी दिए ।


Back_to_top