काठमाडौं । बजाज अटो तथा ट्रायम्फ मिलेर भारतमा उत्पादन गरेको मोटरसाइकल ट्रायम्फ ४०० स्क्रयाम्वलर र स्पीड ४०० नेपाल आउने भएको छ । कम्पनीले नाडा अटो शोमा दुबै मोटरसाइकल प्रदर्शन गर्ने तयारी गरेको हो ।
कम्पनीले आफ्नो सामाजिक संजालमा मोटरसाइकलको प्रमोशनको काम समेत सुरू गरेर चाँडै मोटरसाइकल नेपाल आउने जानकारी दिएको हो । नयाँ दुई मोटरसाइकल केही दिनमै काठमाडौं आइपुग्ने छन् ।
भदौ ११ गतेदेखि सुरू हुने नाडा अटो शो नजिकिदै जाँदा कम्पनीले सामाजिक संजालमा ब्राण्ड गतिविधि वृद्धि गरेको छ ।
कम्पनीले नक्शालमा ट्रायम्फका लागि अत्याधुनिक शोरुमसमेत निर्माण थालिसकेको छ । हंशराज हुलाश चन्द एण्ड कम्पनीले नेपाल भित्र्याउने ट्रयाम्फ मोटरसाइकल मेड इन भारत हुनेछ ।
बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४०० सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यातसमेत सुरू भइसकेको छ भने कम्पनीले केही दिन अघि १ वर्षमा ५० हजार यूनिट मोटरसाइकल बिक्री भएको बताएको थियो ।
ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोरभल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यी दुबै मोटरसाइकलमा समान फिचरहरू छन् । ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरु छन् ।
त्यसैगरी, ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जीङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।
नेपालमै एसेम्बल भएर बिक्री हुने हो भने ट्रायम्फ मोटरसाइकल ७ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँमा आउने अनुमान गर्न सकिन्छ ।