काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् ।
फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।
यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।
ग्वार्को ओभरपासको कुल लम्बाइ ५४० मिटर (र्याम्प र पुलसहित)लामो छ । जसमा ३५ मिटर लामो पुल र ५०५ मिटर लामो र्याम्प छ । ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ ।
ग्वार्को ओपभरपास इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गरिएको हो । यो मोडलमा डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेकेदार कम्पनीले नै गर्छ । ग्वार्को ओभरपास निर्माणको ठेक्का आरसी/समानान्तर/रेलिग्रे जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँ पाएको छ ।
माघ २०७८ मा ठेक्का सम्झौता भएको यो आयोजना २०७९ पुस २३ गतेबाट निर्माण थालिएको थियो । निर्माण थालिएको १३ महिनामा डिजाइनमा समस्या देखिएपछि काम रोकेर रिडिजाइन गरी पुनः काम अघि बढाइएको थियो । त्यसपछि पनि निर्माण गरिएको ४० मिटर र्याम्पमा समस्या देखिएपछि गत पुसमा फेरि काम रोकिएको थियो ।
सुरू सम्झौता अनुसार २०८० फागुन १२ भित्र सम्पन्न हुनुपर्थ्यो । अन्तिमपटक थपिएको म्याद २०८१ पुस ९ गते सकिएको थियो । पुस १० देखि कम्पनीले दैनिक ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तिरेर काम गरिरहेको छ ।
सो ओभर पास सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।