अब १ वर्षभन्दा पुरानो मोडलको सवारी ल्याउन नपाइने

काठमाडौं । अब १ अर्बभन्दा अघि उत्पादन भएका सवारी साधन नेपालमा ल्याउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

‘सवारी पहिचान नम्बर (भीआइएन)को विश्लेष्णको आधारमा उत्पादन मितिले एक वर्षभन्दा बढी पुराना सवारीसाधन नेपालमा बिक्री वितरण गर्नेगरी आयातको लागि अनुमति दिइने छैन,’ निर्देशिकाको मस्यौदामा भनिएको छ ।

नेपालमा हाल आयात गरिने सवारी साधनमा उत्पादन मितिको सीमा तोकिएको छैन । अर्थात् आयातकर्ताले १ वर्षभन्दा अघि उत्पादन भएको सवारी साधन पनि आयात गर्दै आएका छन् ।

कुटनीतिक सुविधाप्राप्त व्यक्ति वा निकायले भने निजी प्रयोजनका लागि पुराना सवारी साधन ल्याउन पाउने छन् । ‘

कुटनीतिक सुविधाप्राप्त व्यक्ति वा निकायले निजी प्रयोजनको लागि नेपाल प्रदूषण मापदण्डभित्र रहेका पुराना सवारीसाधन प्रचलित कानून बमोजिम आयात गर्न चाहेमा परराष्ट्र मन्त्रालयको सिफारिस सहित विभागको स्वीकृति लिनुपर्नेछ,’ मस्यौदमा भनिएको छ ।

निर्माण कार्यका लागि भने पुरानो गाडी ल्याउन पाइने

निर्माण कार्यका लागि भने पुराना सवारी साधन ल्याउन पाइने भएको छ । नेपालमा ठेक्का पाएको कुनै पनि अन्तर्राष्ट्रिय निर्माण कम्पनीले निर्माण कार्यका लागि प्रयोग गर्नेगरी पुराना सवारी साधन वा मेसिन उपकरण ल्याउन पाउने छन् । यसका लागि अर्थ मन्त्रालयको समेत सिफारिस चाहिन्छ ।

‘नेपालमा विकास निर्माणको काममा संलग्न अन्तर्राष्टिय निर्माण व्यवसायीले निर्माणको काममा मात्र प्रयोग गर्नेगरी पुराना सवारीसाधन वा मेसिन उपकरण आयातको स्वीकृति माग गरेमा अर्थ मन्त्रालय समेतको सिफारिसमा त्यस्तो सवारीसाधन आयातको अनुमति दिन सकिनेछ,’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

तर, यसरी आयात भएका सवारीसाधन त्यस्तो विकास निर्माणको काम सम्पन्न भएपछि आयात भएकै मुलुक फिर्ता लग्नुपर्नेछ।


Back_to_top