काठमाडौं । नेपाल आउने तयारी गरिरहेको भियतनामी इलेक्ट्रीक भेहिकल ब्राण्ड भीनफास्टले २०२४ को पहिलो क्वाटरमा करिब १० हजार ईभी बिक्री गरेको छ । कम्पनीले जनवरीदेखि मार्चसम्ममा विश्वभर ९ हजार ६८९ यूनिट ईभी बिक्री गरेको हो ।
उक्त बिक्री संख्या अघिल्लो वर्षको सोहि अवधिको १ हजार ७८० यूनिटको तुलनामा ४४४ प्रतिशतले बढी हो । तर, यो बिक्री उछाल भीनफास्ट ग्रुपको कम्पनीमै ५६ प्रतिशत डेलिभरी भएपछि देखिएको हो ।
भीनफास्टले सन् २०२३ मा विश्वभर ३४ हजार ८५५ यूनिट ईभी बिक्री गरेको थियो । त्यस्तै, एक वर्षको अवधिमा कम्पनीले ७२ हजार ४६८ यूनिट इलेक्ट्रीक स्कुटर समेत बेचेको थियो ।
भीनफास्टले हालै मात्र निजी सवारी साधन बिक्रीमा ५० हजार यूनिटको माइलस्टोन पुरा गरेको थियो । भीनफास्टको लाइनअपमा भीएफ ई-३४, भीएफ-५, भीएफ-६, भीएफ-७, भीएफ-८ र भीएफ-९ तथा इबस जस्ता मोडलहरु रहेका छन् ।
भीनफास्ट अटोको पहिलो क्वाटरको फाइनान्सीयल रिपोर्टका अनुसार मार्च ३१, २०२४ सम्म कम्पनीको विश्वभरमा ११९ ईभी शोरुम रहेका छन् । भीनफास्टले अर्को मोडल भीएफ-९ को बिक्री दोस्रो क्वाटरको अन्त्यसम्ममा सुरु गर्ने जनाएको छ ।
भीनफास्टको २०२४ को पहिलो क्वाटरको रेभिन्यू ३०२.६ मिलियन डलर रहेको छ जसमा ईभीको बिक्रीबाट २७०.५ मिलियन डलर आम्दानी भएको देखिन्छ । योसँगै कम्पनीको कुल घाटा ६१८.३ मिलियन डलर पुगेको छ ।
भीनफास्टले भारतको तामिलनाडुमा छिट्टै प्रोडक्सन प्लान्ट निर्माण गर्दैछ । गत जनवरीमा कम्पनीले तामिलनाडू सरकारसँग २ बिलियन डलर लगानी गर्ने सम्झौता गरेको थियो ।
नेपालका लागि भीनफास्टको आधिकारीक वितरक एड्भान्स अटोमोवाइल नियुक्त भइसकेको छ ।

