नेपालमा धेरैले चासो देखाएका ५ कार, कहिले आउला बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भएर पनि नेपाल आउने वा नआउने अन्योलमा रहेका केही मोडलमा ग्राहकको अत्याधिक चासो देखिन्छ । विशेषत केही फरक खोज्ने ग्राहकहरुले त्यस्ता नयाँ मोडल खोजी रहेको भेटिन्छ ।

थापाथलीका शोरुममा कार किन्न हिडेका विशाल भट्टराई भन्छन्, ‘कम मूल्यको एसयूभी चाहिएको थियो । टाटाले पन्च कहिले बजारमा ल्याउला भनेर बुझ्न आएको थिए । अझैँ केही महिना लाग्ने जानकारी पाए ।’

त्यस्तै गुनासो गर्छन् स्कोडाको शोरुममा भेट्टिएका कुशल महत । उनि कुशक किन्ने मुडमा छन् तर, १.५ लिटर टिएसआई इन्जिन उनको रोजाई हो । कम्पनीले १.० लिटर इन्जिनमा मात्रै कुशक ल्याएको छ ।

महिन्द्रा थार अघिल्लो दशैंमा किन्ने मुड बनाएका बालाजुका अनिश श्रेष्ठ भन्छन्, ‘भारतमा विक्री सुरु भएको डेढ वर्ष भइसक्यो नयाँ थार नेपाल आएन । अब त कम्पनीले पनि यो समयमा आउँछ भन्न छाड्यो । त्यसैले अब सुजुकीकाे जिम्नी किन्ने योजना बनाएको छु ।

यी त प्रतिनिधि पात्र मात्रै हुन् । विश्वबजारमा कार उत्पादन घटेसँगै नेपालमा वेटिङ पिरियड धेरै भएका नयाँ कार आउन सकेका छैनन् । ती मध्येका ५ कार यस प्रकार रहेका छन् ।

१. महिन्द्रा थार

अफरोड एसयूभी थारको नयाँ जेनेरेशन मोडल निकै लोभलाग्दो डिजाइनमा बजारमा आएको थियो । करिब १८ महिनाअघि भारतमा विक्री सुरु भएको नयाँ जेनेरेशन थार नेपाल आउन सकेको छैन ।

अघिल्लो वर्षको दशैं तिहारमा नै नेपाल ल्याउने प्रयास भएको भएपनि गाडीको सिमित उत्पादन हुँदा यो गाडी नेपाल आएको छैन । महिन्द्राले पहिलो पटक पेट्रोल इन्जिनमा पनि उपलब्ध गराएको थार अब कहिले नेपाल आउँछ भन्ने विषय अन्योल भएको छ । अफरोडमा लामो यात्रा गर्न रुचाउनेहरुको पहिलो रोजाईमा पर्ने गरेको थार खोज्ने धेरै ग्राहक नेपालमा रहेका छन् ।

२. कुशक १.५ टिएसआई

करिब ३ महिनाअघि नेपालमा स्कोडा कुशक विक्री सुरु भएको हो । १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध कुशक भारतमा १.५ लिटर इन्जिनमा पनि उपलब्ध रहेको छ । स्कोडाले नेपालको इन्धन क्वालिटीको कारण देखाउँदै १.५ लिटर क्षमताको इन्जिन नेपाललाई नदिएको जनाएको छ ।

३. टाटा पन्च

टाटाको माइक्रो एसयूभी पन्च पनि नेपाल कहिले आउँछ भन्ने चासो धेरै व्यक्त गरिएको मोडल हो । टाटाले पहिलो पटक साइक्रो साइजमा सब फोर मिटर एसयूभीको फिचर दिएर ल्याएको पन्च अक्टोबर २० तारिखबाट भारतमा विक्री सुरु हुँदैछ ।

भारतमा विक्री सुरु भएको केही समयपछि नेपाल आउने अनुमान गरिएको पन्चले ग्लोबल क्र्यास टेष्ट परिक्षण समेत गराएको समाचार बाहिर आएका छन् । टाटाको पन्च माइक्रो एसयूभी ५ स्टार रेटिङ सहित बजारमा आउन लागेको हो ।

४. टोयोटा राइज

जापानी उत्पादकले सन् २०१९ को अन्तिमबाट जापानमा विक्री सुरु गरेको राइज सब फोर एसयूभी हो । अलह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने राइज दशैंअघि नै नेपाल आउने भनिएको थियो । तर, नेपाल आउने निश्चित भइसकेको राइज दशैंपछि नेपाल आउने बताइएको छ ।

५. टाइगुन १.५ टिएसआई

स्कोडा कुशक जस्तै फक्सवागेन टाइगुन पनि १.५ लिटर इन्जिनमा आएको छैन । १.० लिटर टिएसआई इन्जिनमा भने केही दिनअघि टाइगुन नेपाल आएको छ । आधिकारीक विक्रेता पुजा इन्टरनेशनलले टाइगुन १.५ लिटर इन्जिनमा नेपाल ल्याउन प्रयास भइरहेको जनाएको छ ।


Back_to_top