डब्लुआरडब्लुआर अर्थात विमेन राइडर्स वर्ल्ड रिले नेपालमा आइपुगेको छ । बेलायतबाट प्रारम्भ भएको सो रिले गत जुलाई १४ मा सुनौली हुँदै नेपाल प्रवेश गरेको हो ।
भारतीय महिला बाइक राइडरहरुले आफूसँग लिएको बेटन लुम्बिनीमा एक कार्यक्रमका बीच नेपाली महिला राइडरलाई हस्तान्तरण गरे । नेपालको लेगमा हिमालयन जिप्सिजका राइडर अमान्दा लुइस ग्रेगोरी र राइडर्स युनिफाइड-फोर तथा हिमालयन जिप्सिजकी राइडर मेरिना श्रेष्ठ सहभागी छन्
। नेपाल लेगका लागि मेरिना र अमान्दा एम्बेसडर छन् । उनीहरुलाई अष्ट्रेलियाकी राइडर कोलेटल र स्पेनकी राइडर मारले समेत साथ दिएका छन् ।
टिम नेपाल पहिलो दिन चितवन र दोस्रो दिन लहान पुगेका छन् । उनीहरु इटहरी हुँदै अन्तिम स्टपको रुपमा काकडभिट्टा पुग्ने छन् । उत्तर पूर्वी भारतका लेडी राइडरहरुले त्यसपछि बेटन प्राप्त गरी बंगलादेश सिमानामा पुग्ने छन् ।
नेपाली टिमका लागि हार्ट एन्ड टियर्स तथा ¥यापिड रनर्सले नगद तथा ब्याकअप भेइकल प्रायोजन गरेको छ भने फोर नेपालले राइड सहयोग गरेको छ ।
डब्लुआरडब्लुआरको शुरुवात गत वर्षको अगस्ट महिनादेखि हेले बेलले गरेका हुन् ।
मोटरस्पोर्टमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि यसको स्थापना गरिएको थियो । यसलाई इतिहासकै सबैभन्दा ठूलो मोटरबाइक रिले भनिन्छ । गत अगस्ट यता सो रिले करिव १ सय देशमा पुगेर १५ हजार भन्दा बढी महिलाहरुलाई प्रोत्साहित गरिसकेको छ । हाल सो रिलेमा सक्रियतापूर्वक भाग लिनका लागि करिब २ सय महिलाहरुले अनुरोध गरिसकेका छन् र हाल यो बढ्दो क्रममा रहेको छ ।

