चर्चित इलेक्ट्रीक कार ३९ किमी गुडेपछि कहिल्यै नबन्ने गरी बिग्रियो

काठमाडौं । एउटा कार कति किलोमिटर गुड्ला ? कम्पनीहरूले गर्ने विज्ञापनमा लामो समय वारेन्टी दिएको हामीले देखेकै छौं । नेपालमा सामन्यतया एउटा कार २० वर्षभन्दा बढी समयसम्म चलाउने गरेको पाइन्छ ।

तर, विश्वभर ठूलो हल्लाखल्लाको साथ बजारमा आएको साओमी एसयू-७ सेडान कार ३९ किलोमिटर चलेपछि कहिल्यै नबन्ने गरी बिग्रियो भन्दा धेरैले पत्याउँदैनन् । यो घटना सत्य हो ।

केही दिन अगाडि एक चिनियाँ नागरिकले कार किनेर ३९ किलोमिटर गुडाउनासाथ बिना कुनै दुर्घटना कार बन्द भएको थियो । कार खरिदकर्ता मिस्टर वेनले चार दिनअघि मे ५ मा साओमी एसयू-७ कार शोरुमबाट निकालेका थिए ।

मिस्टर वेनका अनुसार शोरुमबाट निकालेर प्रतिघण्टा १३५ किलोमिटरको स्पीडमा चलाउँदै अगाडि बढ्ने क्रममा कार अचानक बन्द भएको थियो । त्यसपछि त्यो कार पुनः स्टार्ट भएन ।

कार गुडिरहँदा डिस्प्लेमा ‘सिस्टम फल्ट’को साइन आएको थियो । त्यसपछि कारलाई ड्राइभ वा रिभर्स कुनैमा पनि चलाउन नसकेको वेनले बताएका छन् ।

गुड्दा गुड्दै गाडी बीच बाटोमा रोकिएपछि टोइङ ट्रक बोलाएर लगिएको थियो । सर्भिस सेन्टरले उक्त कार कहिल्यै नबन्ने जानकारी दिएको छ ।

३९ किलोमिटर चलेपछि बिक्रीको कार

मिस्टर वेनले भने आफूलाई कम्पनीले रिप्लेसमेन्ट कार दिनु पर्ने माग राखेका छन् । तर, कम्पनी पैसा फिर्ता लिन आग्रह गरेको छ । यदि कार नै लिने हो भने पुनः अर्डर गरेर लामो समय कुर्न भनिरहेको छ । नयाँ अर्डर गर्दा कार पाउन करिब एक वर्ष समय पर्खनु पर्नेछ ।

साओमीले गत मार्चमा ८ हजर ५०० कार डेलिभरी दिएको थियो । कम्पनीका अनुसार मार्च महिनासम्म ७५ हजारभन्दा बढि नन् रिफन्डेबल अर्डर रहेको जनाएको छ । उसले आगामी जुन महिनाबाट मासिक १० हजार कार डेलिभरी गर्ने जनाएको छ ।

इलेक्ट्रोनिक्स इक्यूपमेन्ट बनाउने कम्पनी साओमीले पहिलोपटक ‘एसयू-७’ कार गत अप्रिल ३ बाट डेलिभरी सुरू गरेको थियो । बुकिङ खुल भएको केही समयमा नै एक वर्षको उत्पादन सोल्डआउट भएको थियो ।


Back_to_top