इलेक्ट्रीकमा कन्भर्ट भएपछि इग्नीसको टप स्पीड २०० किलोमिटर

काठमाडौं । पेट्रोल कारलाई इलेक्ट्रीक बनाउने धेरै कम्पनीहरु खुल्लन थालेका छन् । चीनमा पेट्रोल गाडीलाई ईभी बनाउने र साना ईभीमा रेन्ज एक्सटेन्डर दिने कम्पनीहरु ठूलो संख्यामा खुलेका छन् ।

पेट्रोल कारलाई ईभीमा कन्भर्ट गर्दा ब्याट्री, मोटर र ब्याट्री मेनेजमेन्ट सिस्टममा खर्च गरे पुग्छ । त्यसैले पुराना पेट्रोल गाडीलाई इलेक्ट्रीकमा परिवर्तन गर्न चाहनेहरु भेटिन्छन् । भारतका ठूला सहरहरुमा यस्ता वर्कसपहरु पनि खुलिसकेका छन् ।

नेपालमा निजी गाडी पुरानो भएसँगै धेरै कर तिर्नु पर्ने भएको कारण केही सहुलियत पाए ईभीमा कन्भर्ट गर्छु भन्नेहरु धेरै भेटिन्छन् । तर, यातायात ऐनले गरेको गाडीको स्वरुप परिवर्तन गर्न नपाईने कुरालाई परिवर्तन गरेर कन्भर्ट गर्न सकिने कानुनी आधार सरकारले तयार परेको छैन । यदि, कानुनी आधार हुने हो भने यहाँ पनि थुप्रै गाडी ईभीमा कन्भर्ट हुन्थे ।

मारुती सुजुकी अल्टो, हुन्डाई सेन्ट्रो, टाटा नानो जस्ता गाडी भारतमा कन्र्भट भएका समाचारहरु बेलाबखत आउने गर्छ । यस पटक सुजुकी इग्नीस ईभीमा कन्भर्ट भएको समाचार बाहिर आएको हो ।

इग्नीसको हकमा ईभीबन्दा टप स्पीड खास कुरा भएको छ । मिडिया रिपोर्टहरुका अनुसार प्रतिघन्टा २०० किलोमिटरको टप स्पीडटमा कन्भर्ट गरिएको विद्युतीय इग्नीस दौडन सक्छ ।

पुर्णेमा रहेको नर्थवे मोटर्सले सुजुकी इग्नीसलाई ईभीमा रुपान्तरण गरेको हो । उक्त कम्पनीले यसअघि टाटा एसलाई ईभीमा कन्भर्ट गर्दै आएको थियो । उसले आफैँ ईभी कन्भर्ट गरेर पनि बिक्री गर्दै आएको छ ।

नर्थवेले इग्नीसमा दिइएको ब्याट्री र मोटर साइजका विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । उसले निकै आकर्षक ढंगले कन्भर्ट गरेको इग्नीसको टप स्पीड क्षमता मात्रै देखाएको हो ।


Back_to_top