काठमाडौं । अहिले चिसोको मौसम छ । तराई क्षेत्रमा शितलहर चलिरहेको छ । पहाडी र हिमाली क्षेत्रमा बिहान बेलुका कुहिरो, हुस्सु, तुवाँलो लाग्ने गरेको छ । जसकारण दिनको समयमा पनि सवारी चलाउन असहज हुने गरेको छ ।
सवारी चलाउँदा फग लाइटको भूमिका एकदम महत्वपूर्ण हुन्छ । फग लाइट बम्परको तल जमिन नजिकै हुन्छ । जसले चालकलाई अगाडिको सडक देखाउन मद्दत गर्छ । फग लाइट गाडीको देखावटी फिचर मात्र नभई भिजिबिलिटी, आँखाको थकान र सडक सुरक्षासँग सम्बन्धित छ ।
फग लाइट कुहिरो, वर्षा वा धूलोमा बाटोमा सहजै प्रकाश फैलाउन सक्ने खालको हुनुपर्छ । आजकार गाडीमा पहेँलो र सेतो रङका फग लाइट राख्ने गरेको पाइन्छ । जसका आ-आफ्नै फरक फरक विशेषता छन् ।
पहेँलो फग लाइट
पहेँलो फग लाइटबाट आउने प्रकाशको वेभलेन्थ सेतो वा निलोकोभन्दा लामो हुन्छ । यो चिसो वा कुहिरो लागेको समयमा कम फैलिन्छ । यसको व्यवहारिक फाइदा यही हो ।
बाक्लो कुहिरोमा सडकको सीमा, लेन लाइन र कर्भको भिजिबिलिटी पहेँलो फग लाइटले राम्रो देखाउँछ । जसले चालकको आँखामा दबाब कम पर्छ । विपरीत दिशाबाट आउने सवारीको आँखामा पर्दैन । त्यसैले खराब मौसमका लागि डिजाइन गरिएको पुराना युरोपिन कारहरूमा पहेँलो फग लाइट हुन्छ ।
यसका केही बेफाइदा पनि छन् । पहेँलो फगलाईट धेरै चमकदार नहुने भएकाले प्रकाश सीमित हुन्छ । धेरै टाढासम्म स्पष्ट देखिँदैन ।
सेतो फग लाइट
सेतो फग लाइटमा दिनको घाम जस्तै ज्यादा चमक हुन्छ । यसले सडकको धेरै हिस्सामा प्रकाश फाल्छ । यसले हल्का कुहिरो, वर्षा र धुलोहरूमा राम्रो भिजिबिलिटी दिन्छ । त्यसैकारण आधुनिक कारहरूमा सेतो रङको फग लाइट हुने गरको छ ।
तर, बाक्लो कुहिरोमा सेतो फग लाइट धेरै रिफ्लेक्ट भएर चालककै आँखामा रिफ्लेक्ट हुन्छ । जसले चमक बढाउँछ र भिजिबिलिटी राम्रो देखाउनुको सट्टा झन खराब हुन्छ ।
यस्तोमा यदि तपाईं धेरै जसो राति वा बिहान ड्राइभिङ गर्नु हुन्छ भने आफ्नो सवारीमा पहेँलो रङको फग लाइट लगाउनु उपयुक्त हुन्छ । तर कहिले काहीँ मात्र हल्का धुँवा, कुहिरो, वर्षा वा धुलाम्मे सडकमा ड्राइभ गर्नुहुन्छ भने सेतो फग लाइइट उपयोगी विकल्प हो ।

