काठमाडौं । सिजी मोटर्सले दायून ब्राण्डको युएहु माइक्रो एसयूभी काठमाडौं ल्याएको छ । कम्पनीले दुई दिनअघि ३१ लाख मूल्य तोकेको इलेक्ट्रीक माइक्रो एसयूभी नेपाल आएको हो ।
सहरी क्षेत्रको लागि उपयुक्त देखिने दायून युएहु मोडलले बजारमा रहेका टियागो ईभी र विलिङ विङ्गोसँग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
सिजीले ल्याएको युएहु मोडलमा ३१.७ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसलाई सिंगल चार्जमा ३३० किलोमिटर गुडाउन सकिन्छ ।
गाडीको सबैभन्दा बलियो पक्ष ग्राउन्ड क्लियरेन्स बताइएको छ । सिजी मोटर्सका अनुसार नयाँ माइक्रो एसयूभीमा २०१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहने छ ।
बजेट कारमा डिजिटल क्लष्टर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रीक पार्किङ ब्रेक, चारवटै चक्कामा डिस्क ब्रेक, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछ ।

केबल ४८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कारण यसमा नेपाल सरकारले तोकेको सबैभन्दा कम कर लाग्नेछ ।


