काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले माइक्रो एसयूभी सेग्मेन्टमा नयाँ इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले ल्याउने घोषणा गरेको माइक्रो एसयूभी दायून ब्राण्डको युएहु मोडल हो ।
सिजी मोटर्सले ३१ लाख मूल्यमा बिक्री गर्ने घोषणा गरेको गाडी झट्ट हेर्दा एसयूभी जस्तै बल्की देखिन्छ । यसको लम्बाई केबल ३६९५ एमएम, चौडाई १६८५ एमएम र उचाई १५९८ एमएम रहेको छ । यसमा २४१० एमएमको ह्वीलबेस उपलब्ध छ ।
सहरी क्षेत्रमा माइक्रो एसयूभीको मज्जा लिन सकिने युएहु मोडल मूल्यकै कारण धेरै मानिसको रोजाईमा पर्न सक्ने मोडल हो । यसमा कम्पनीले टर्नरी लिथियम आयोन ब्याट्री दिएको छ ।
कम्पनीले आफ्नो आधिकारीक वेभसाइटमा उल्लेख गरे अनुसार यसमा ३१.७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
गाडीको सबैभन्दा बलियो पक्ष ग्राउन्ड क्लियरेन्स बताइएको छ । सिजी मोटर्सका अनुसार नयाँ माइक्रो एसयूभीमा २०१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहने छ ।

बजेट कारमा डिजिटल क्लष्टर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रीक पार्किङ ब्रेक, चारवटै चक्कामा डिस्क ब्रेक, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछ ।
केबल ४८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कारण यसमा नेपाल सरकारले तोकेको सबैभन्दा कम कर लाग्नेछ ।

