काठमाडौं । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले आफ्नो इलेक्ट्रीक एसयूभी जेडएस बुकिङ गरेर बसेका ग्राहकलाई थप केही समय गाडीको लागि कुर्नु पर्ने संदेश पठाएको छ ।
कम्पनीले चीनमा बढ्दो कोभिड १९ को संक्रमण र त्यसपछि हुन थालेको लकडाउनको कारण यहाँ बुकिङ लिएका ग्राहकलाई भनेको समयमा गाडी दिन नसिकने अवस्था आएको भन्दै थप समय कुर्न वा आफ्नो बुकिङ अमाउन्ट फिर्ता लिन चाहनेलाई लिन आग्रह गर्दै संदेश पठाएको छ ।
‘हामी बुकिङ गरेर बसेका सबै ग्राहकलाई गाडी दिन प्रतिबद्ध छौं । हामीले भनेकोभन्दा बढी समय लाग्ने भएपछि ग्राहकलाई सुचना दिनु हाम्रो दायित्व हो । त्यसैले सबै बुकिङकर्तालाई थप समय कुर्न वा बुकिङ रकम फिर्ता चाहनेलाई लान आग्रह गर्दै म्यासेज पठाएका हौं’, पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले मेरोअटोसँग भने ।
पारामाउन्ट मोटर्सले म्यासेज पठाएसँगै केही ग्राहकले कम्पनीले गाडी नदिने पो हो कि ? वा महंगो मूल्यमा अरुलाई विक्री गर्न खोजेको पो हो कि भन्ने आशंका ब्यक्त गर्न थालेसँगै कम्पनीले आफ्ना सबै ग्राहकलाई ढुक्क हुन आग्रह गरेको हो ।
एमजीले फेसलिफ्ट जेडएस इभी सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको थियो । दुई दिनमा नै ५०० यूनिट हाराहारी बुकिङ पुगेपछि कम्पनीले बुकिङ नै दिन बन्द गरेको थियो ।


