एफजेड भी ३ र जिक्सर १५५ मा कुन राम्रो ? यस्ता छन् समानता (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा बिक्री हुने मोटरसाइकलमा सर्वाधिक रुचाइने १५० सीसी इन्जिन क्षमता भएका मोटरसाइकल हुन् । कुनै ब्राण्डले उत्पादन गरेका मोटरसाइकल उत्कृष्ट भएपनि बजारमा खासै व्यापार गर्न सक्दैनन् ।

पछिल्ला दिनमा सर्वाधिक बजार हिस्सा बढाउन सफल यामाहाको एफजेड भी ३ र सुजुकी जिक्सर १५५ लगभग सबै फिचर उस्तै भएका मोटरसाइकल हुन् । तर, यी दुईको व्यापार हेर्ने हो भने धेरै फरक पाउन सकिन्छ । मासिक १४ सय यूनिट हारहारीमा यामाहाको एफजेड भी ३ बिक्री हुँदा जिक्सरको वार्षिक विक्री ५ हजार युनिट भन्दा पनि कम रहेको छ ।

उत्कृष्ट टेक्नोलोजी, स्टाइलिस डिजाइन र निकै पावरफुल इन्जिनका बाबजुद जिक्सर १५५ को बिक्रीलाई अन्य मोडलसँग तुलना गर्दा निकै पछाडि रहेको हो । यो सेग्मेन्टमा होन्डा हर्नेट, यूनिकर्न र एक्सव्लेड रहेका छन् भने सर्वाधिक बिक्री हुने पल्सर १५० यही सेग्मेन्टको मोटरसाइकल हो ।

त्यस्तै टीभीएस आरटीआर १६० ४भी, एनके १५० लगायतका मोडलपनि यही सेग्मेन्टमा आउँछन् । यस्तोमा आज हामीले यामाहा एफजेड भी ३ र सुजुकी जिक्सर १५५ बीच रहेका भिन्नतालाई केलाउने प्रयास गरेका छौ ।

यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले एफजेड भी ३ लाई ३ लाख १९ हजार ९०० रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ भने भिजी सुजुकीले जिक्सर १५५ को मूल्य ३ लाख १५ हजार रुपैयाँ तोकेको छ ।

 

यी दुबै एफआई इन्जिन र सिंगल च्यानल एबीएस सहित बजारमा आएका मोटरसाइकल हुन् । यामाहा एफजेड भी ३ मा १४९ सीसी ४ स्टोक, एसओएचसी, २ भल्भ इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएमा १३.२ पीएस पावर प्रदान गर्छ ।

सुजुकीले जिक्सर १५५ मा १५५ सीसी ४ स्टोक, सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले समान ८००० आरपीएममा १४.१ पीएस पावर प्रदान गर्छ । यी दुई मोटरसाइकलमा जिक्सरको पावर धेरै रहेको छ ।

दुबै मोटरसाइकलमा अगाडि र पछाडि दुई वटै डिस्क ब्रेक दिइएको छ । स्पीडको कुरागर्दा जिक्सर केही मिलिसेकेन्डले अगाडि रहेको छ । दुबै मोटरसाइकलमा अगाडि र पछाडिको ह्वील समान ४३१.८ एमएमको प्रयोग गरिएको छ ।

दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस, स्टार्टको लागि सेल्फ मात्र सुविधा, डिजिटल स्पीडो मिटर, एलइडी टेल लाइट, डिजिटल ट्रीप मिटर, लो फ्युल वार्निङ ल्याम्प, डिजिटल कन्सोल जस्ता विशेषता दिइएको छ । माइलेज पनि यी दुबै मोटरसाइकलको समान जस्तै रहेको छ ।

एफजेड भी ३ किन धेरै बिक्री हुन्छ ?

धेरै फिचरमा समानता रहेपनि नेपाली बजारमा यामाहा एफजेड भी ३ धेरै बिक्री हुनुको केही कारण छन् । यामाहाले नेपालमा आफुलाई स्थापित गर्न ब्राण्डमा ठूलो लगानी गरेको छ भने बिभिन्न कार्यक्रमसँग जोडिएर यामाहाको गतिविधिलाई अगाडी बढाएको छ ।

अर्को सबैभन्दा महत्वपूर्ण विषय मोटरसाइकलको आफ्टर सेल्स सर्भिस हो । यामाहाले पछिल्लो दशक नयाँ बिक्रीसँगै बिक्रीपछिको सेवामा समेत ठूलो लगानी गर्दै बिक्री केन्द्र, सर्भिस सेन्टरको बिस्तार र स्पेयर पार्टसको उपलब्धतालाई सहज बनाएको छ ।

साथै, यामाहाले एफआई टेक्नोलोजीमा नेपाली धेरै युवाहरुको मन जितेको छ । फलत समान विशेषता र केही महंगो मूल्यका बाबजुद यामाहा एफजेड भी ३ धेरै बिक्री हुने मोडलमा परेको हो ।


Back_to_top