काठमाडौं । हिरो मोटोकर्पले अघिल्लो वर्ष बजारमा ल्याएको एक्सपल्स २०० टी र एक्स्ट्रीम २०० एसलाई आफ्नो आधिकारीक वेभसाइटबाट हटाएको छ । साथै, कम्पनीले आफ्नो चर्चित एक्स्ट्रीम २०० आरको समेत उत्पादन बन्द गर्ने भएको छ ।
अब हिरो मोटोकर्पसँग एक्सपल्स २०० मात्र २०० सीसी सेग्मेन्टको मोटरसाइकल बाँकी रहने छ । यी तीन मोडल हटाएर कम्पनीले एक्स्ट्रीम १६० आर लिस्टेड गरेको छ ।

सुरुवातदेखि नै ग्राहकको चाहनामा पर्न नसकेको एक्स्ट्रीम २०० एस र एक्सपल्स २०० टीलाई कम्पनीले २०१९ मा बजारमा उतारेको थियो ।
यी तीनवटै मोटरसाइकलमा २०० सीसी क्षमताको समान इन्जिन दिइएको थियो । १९९.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड काब्रुरेटर इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्थ्यो ।
यी तीन वटै मोटरसाइकल नेपाली बजारमा पनि बिक्री हुँदै आइरहेको छ । नेपालको लागि एनजीएम (नेपाल जनरल मार्केटिङ)ले गर्दै आएको यी मोटरसाइकलले यहाँ पनि खासै राम्रो व्यापार गर्न सकिरहेको छैन ।

एनजीएमले नेपाली बजारमा हिरो एक्सपल्स २०० टी को मूल्य ३ लाख ३२ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । साथै, एक्स्ट्रीम २०० एसको मूल्य ३ लाख २२ हजार रुपैयाँ रहेको छ भने एक्स्ट्रीम २०० आरको मूल्य २ लाख ९५ हजार ५०० रुपैयाँ तोकेको छ ।
यो पनि पढ्नुहोस्ः नयाँ इन्जिनमा हिरो एक्सपल्स २००, घट्यो पावर

