काठमाडौं । रेनोले जनवरी १४ मा नयाँ इलेक्ट्रीक कार ‘रेनो-५’ को प्रोटोटाइप सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको रेट्रो इन्स्पायर्ड इलेक्ट्रीक ह्याचव्याकले अहिले निकै चर्चा पाइरहेको छ ।
कम्पनीको रेनोलुसन प्लान अन्तर्गत आउने यो ह्याचव्याक कार सन् २०२४ सम्ममा यूरोपियन बजारमा विक्री सुरु गर्ने अनुमान गरिएको छ ।
रेनोले सन् १९७० र ८० को दशकमा चर्चित सुपरमिनिबाट प्रेरित रहेर यसको प्रोटोटाइप बनाएको छ । बक्सी डिजाइन, एलइडी सिग्नेचर लाइट, हाइटेक डिस्प्ले, मोर्डन लुक्सको कारण यो ह्याचव्याक इलेक्ट्रीक चर्चाको शिखरमा पुगेको हो ।

रेनो-५ मा अगाडि भविष्यको हेडल्याम्प भनेर फरक किसिमको एलइडी हेडल्याम्प दिइएको छ । स्क्वायर एलइडी डेटाइम रनिङ लाइट, एरोडाइनामिक टेल लाइट, ठूलो अलोय ह्वील, ड्यास बोर्डमा टास्पारेन्ट स्कृन जस्ता फिचर यसमा समेटिएको छ ।
रेनोका डिजाइन टाइरेक्टर गिल्स भेडालले यो कार पूर्णत सहरी क्षेत्रलाई हेरेर डिजाइन गरिएको जनाएका छन् । उनका अनुसार रेनोले सन् २०२५ सम्ममा बजारमा ल्याउने घोषण गर्ने २४ नयाँ मोडलमा यो पनि एक हो । यसको अन्य विशेषताको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


