काठमाडौं । चीनमा विद्युतीय गाडी उत्पादन गर्ने सयौंको संख्यामा कम्पनीहरु संचालनमा छन् । तर, चिनियाँ एसएआईसी, लिउझाउ विलिङ र अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानीमा विलिङ ब्राण्डले उत्पादन गरेको मिनी कारले अहिले विश्वको ध्यान खिच्न सफल भएको छ ।
कम्पनीले सन् २०२१ मा विलिङ मिनीलाई चीनमा ४ लाख यूनिट विक्री पुरा गरेको छ । जुन आफैँमा एउटा ठूलो तथ्यांक हो । सन् २०२१ को डिसेम्बरमा यसको विक्री ५० हजार यूनिटभन्दा धेरै भएको छ । यही रफ्तारले यसको विक्री हुने हो भने पनि सन् २०२२ मा ६ लाख यूनिट पुग्ने निश्चित छ ।
दुई व्याट्री अप्सनमा उपलब्द विलिङ मिनीमा ९.३ किलोवाट आवर र १३.९ किलोवाट आवरको व्याट्री दिइएको छ । सानो व्याट्रीले फुल चार्जमा १२० किलोमिटर र ठूलो व्याट्रीले १७० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
व्याट्री दुई फरक साइजमा भएपनि मोटर भने समान २० किलोवाट क्षमताको छ । १०० किलोमिटर प्रतिघण्टा स्पीडमा दौडन सक्ने यी कारमा चालक सहित ४ जनाले सहज यात्रा गर्न सक्नेछन् ।

विलिङ मिनीको लम्बाई २९१७ एमएम, चौडाई १४९३ एमएम उचाई १६२१ एमएम रहेको छ । यो कारको ह्वीलवेस १९४० एमएमको रहेको छ ।
चिनियाँ बजारमा यो कारको मूल्य केवल ४ हजार ५ डलर मात्रै रहेकोले धेरै मानिसले यसलाई किनेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।
पहिलो मोडलको सफलतासँगै विलिङ कम्पनीले यसको अपग्रेटेड भर्सन समेत छिटै बजारमा उतार्ने तैयारी गरेको छ । कम्पनीको नयाँ भर्सनमा २६ किलोवाट आवरको व्याट्री दिने र त्यसले सिंगल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिने दावी गरेको छ ।

