टीभीएस र रोयल इनफिल्डले अटो शोमा ल्याउँदै नयाँ मोडल

काठमाडौं । आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२३’मा रोयल इनफिल्ड र टीभीएसले नयाँ मोटरसाइकल प्रदर्शनी गर्ने भएका हुन् ।

यी दुई कम्पनीले प्रदर्शनी गर्ने रोयल इनफिल्ड हन्टर-३५० को आधिकारीक बिक्री सुरु हुनेछ । साथै, टीभीएसको पहिलो क्रुजर मोडल रोनीनलाई भने प्रदर्शनी मात्रै गर्ने तयारीमा आयातकर्ता जुटेको अनुमान गरिएको छ ।

टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले रोनीन-२२५ को नेपालमा विगत ४ महिनादेखि परिक्षण गरिरहेको छ । अहिले कम्पनीले यसको झण्डै ४ हजार किलोमिटर परिक्षण पुरा भएको जनाएको छ । अटो शोपछि थप २ हजार किलोमिटर परिक्षण गर्ने र त्यसपछि मात्रै यसको बिक्री सुरु गर्ने कम्पनी स्रोतले जानकारी दियो ।

त्यसैगरी रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभ्सले हन्टर-३५० को एसेम्बल किट नेपाल ल्याइसकेको छ । कम्पनीले नेपालमै एम्बल गर्ने यो मोडललाई आधिकारीक बिक्री सुरु गर्ने जनाएको छ ।

मूल्य लगायतका विषयमा टुङ्गो नलागेपनि हन्टर-३५० को आधिकारीक बिक्री सुरु हुने विषय भने टुङ्गिएको छ । अटो शोमा प्रदर्शनी हुने यी दुई मोटरसाइकलमा रहेका मुख्य फिचर यस प्रकार रहने छन् ।

रोयल इनफिल्ड हन्टर-३५०

रोयल इनफिल्ड हन्टर-३५० तीन भेरियन्टमा भारतमा उपलब्ध छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने जानकारी प्राप्त भएको छैन । भारतमा भने हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल भेरियन्टमा पाउन सकिन्छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर मात्रै छ । यसका अन्य दुई भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोल, डबल च्यानल एबीएस पाउन सकिन्छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस मात्रै छ ।

रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ । कम्पनीले मेटियर-३५० कै समान प्लेटफर्ममा हन्टर-३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

टीभीएस रोनीन

मोटरसाइकल अफ दी इयर २०२२ को अवर्ड जित्न सफल रोनीन क्रुजर मोटरसाइकल हो । यसमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।


Back_to_top