दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् ।

भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक ब्राण्डले दुई पाङ्ग्रे साधन प्रदर्शनी गर्न लागेका हुन् ।

नाडा अटो शो २०२३ मा बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, भेष्पा अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता कम्पनीले आफ्ना नयाँ मोटरसाइकल तथा स्कुटर प्रदर्शन गर्ने भएको हुन् ।

आज हामीले नाडा अटो शोमा सहभागि पेट्रोलबाट चल्ने स्कुटर बिक्री गर्ने कम्पनी र उसले ल्याउने मोडलका विषयमा चर्चा गर्नेछौं ।

बजाज

बजाजले नाडा अटो शोमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर प्रदर्शन गर्ने तयारी गरिरहेको छ । कम्पनी स्रोतका अनुसार बजाज चेतक नाडा अटो शोमा सार्वजनिक हुनेछ ।

त्यस्तै, बजाजले पल्सर पी १५० मोटरसाइकल समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसका विषयमा भने कुनै ठोस जानकारी प्राप्त भएको छैन ।

चेतक स्कुटर

बजाजले तीन दशक अगाडि बिक्री गरेको चेतक नामक स्कुटरको नामलाई नै इलेक्ट्रीकमा पनि निरन्तरता दिएको छ । बजाज चेतकमा ५०.४ भोल्ट ५७.२४ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री पाउन सकिन्छ ।

कम्पनीले चेतकमा ४.२ किलोवाट पीक पावर भएको मोटर दिएको छ । कम्पनीका अनुसार चेतकले सिंगल चार्जमा १०८ किलोमिटरसम्म रेन्ज दिन्छ ।

पल्सर पी-१५०

पल्सर १५० कै इन्जिन प्रयोग भएको पी १५० को डिजाइन भने व्यापक परिर्वतन गरिएको छ । पल्सर पी–१५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ भने यसले १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले पी–१५० मा ड्रम तथा डबल डिस्क ब्रेक तथा सिंगल सिट तथा स्प्लीट सिट दुवै अप्सन दिएको छ । कुन कुन अप्सन नेपालमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।

यसमा पल्सर एन–१६० कै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । उक्त क्लष्टरमा गियर इन्डिेकटर, रेन्ज इन्डिकेटर पाउन सकिन्छ ।

त्यस्तै, यसमा फुल एलइडी प्रोजेक्टर हेडलाइट, एलइडी डीआरएल, एलइडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।

टीभीएस

टीभीएसले नाडा अटो शोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनीन सार्वजनिक गर्ने तयारी थालेको छ । लामो समयदेखि नेपालमा परिक्षण गर्दै आएको रोनीन कम्पनीले नाडा अटो शोमा सार्वजनिक गर्ने भएको हो ।

टीभीएस मोटर्सको नेपालमा लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएसको लागि अटो शोमा अपाचे आरटीआर १६० फोर भीको अपडेटेड भर्सन समेत सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

कम्पनीले यी दुबै मोटरसाइकल परिक्षण पश्चात नेपालमा सार्वजनिक गर्ने तयारी थालेको लामो समय भइसकेको छ भने नाडा अटो शोको अवसर पारेर दुबै मोटरसाइकल सार्वजकिन गर्ने अनुमान गर्न सकिन्छ ।

यस्तो छ रोनीन

टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

क्रुजर मोटरसाइकलको माग बढ्दै गएको अवस्थामा नाडा अटो शोमा टीभीएसले रोनिन सार्वजनिक गर्ने हो भने पक्कै पनि यूवाहरुको अकर्षण टीभीएस रोनीनतर्फ हुनेछ ।

रोयल इनफिल्ड

परिमार्जन सहितको नयाँ क्लासीक ३५० सार्वजनिक गरेर चर्चा कमाएको रोयल इनफिल्डले नाडा अटो शोमा ३५० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्ने तयारीमा रहेको रोयल इनफिल्ड हन्टर ३५० संभवत कम्पनीको सबैभन्दा सस्तो मोटरसाइकल हुनेछ ।

इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा आउने हन्टर ३५० ले नाडा अटो शो अवलोकनमा आउने यूवाहरुलाई आफुतिर तान्ने देखिन्छ ।

यस्तो छ हन्टर–३५०

रोयल इनफिल्ड हन्टर–३५० तीन भेरियन्टमा भारतमा उपलब्ध छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने जानकारी प्राप्त भएको छैन । भारतमा भने हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल भेरियन्टमा पाउन सकिन्छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर मात्रै छ । यसका अन्य दुई भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोल, डबल च्यानल एबीएस पाउन सकिन्छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस मात्रै छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले २०.२ हर्सपावर र २७ एनएम टर्क जेनेरेट गर्छ ।

यसका अवाला कम्पनी अर्को नयाँ मोडलको मोटरसाइकल नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको कम्पनी स्रोतले जनाएको छ । अर्को मोडलको बारेमा थाहा पाउन भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।

होन्डा

होन्डाले नाडा अटो शोमा १२५ सीसीको स्पोर्टी स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले होन्डा डिओ १२५ सार्वजनिक गर्ने भएको हो ।

नेपालमा १२५ सीसी सेग्मेन्टका स्कुटरको बढ्दो लोकप्रियतसँगै नाडा अटो शोमा ल्याउने होन्डा डिओ स्कुटर प्रेमीहरुको लागि आकर्षणको केन्द्र बन्नेछ ।

यस्तो छ डिओ १२५ स्कुटर

नयाँ होन्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बे्रकहर्स पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्नेछ ।

नयाँ डिओमा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, वेव डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।

जोन्टेस

जोन्टस ब्रान्डले पहिलो पटक नाडा अटो शोमा सहभागिता जनाउन लागेको हो । कम्पनीले अटो शोमा १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।

जोन्टेसका मोटरसाइकल यसको फिचर डिजाइनका कारण अवलोकनकर्ताको ध्यान खिच्ने सम्भावना छ । कम्पनीले हाल बिक्री गर्दै आएको जीटी १५५ यूको डिजाइनमा तयार पारेको १२५ सीसी क्षमताको एड्भेन्चर मोर्टाड मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीका उत्पादनहरु अन रोड तथा अफरोड दुबैका लागि हुने गरेर डिजाइन गरिएको छ भने यसमा बीएमडब्ल्यू, अफ्रिका ट्वीन जस्ता मोटरसाइकलमा प्रयोग हुने फिचरहरु पाउन सकिन्छ ।

जीटी १२४ यू

जोन्टेस जीटी १२५ मा यूरो ५ मापदण्डका लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले १४.०४ हर्स पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ ।

यो मोटरसाइकलमा सेग्मेन्ट फ्रस्ट फिचरहरु सुपरबाइक ग्रेड १० एम्पियर आवरको ब्याट्री, एयर टेम्प्रेचर सेन्सर, जिंक कोटेड फ्युल ट्याङ्क, वाटर रेसिस्टेन्स ब्याकलिट स्वीच गियर, ३०० एमएम साइज डिस्कब्रेक तथा डबल च्यानल एबीएस जस्ता फिचर छन् ।

त्यस्तै, अन्य फिचरमा यो मोटरसाइकलमा एन्टी हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्वीङ आर्म, यूएडी फर्क, फास्ट चार्जिङ यूएसवी पोर्ट, डबल एलईडी हेडल्याम्प, एलईडी डीआरएल छन् ।

कम्पनीले ३५० सीसी क्षमताको एड्भेन्चरमा मोटरसाइकल समेत नाडा अटो शोमा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

यी कम्पनीका अलावा केटीएम, जावा, भेष्पा अप्रिलिया, बेनेली जस्ता कम्पनीले हाल उपलब्ध मोडलहरु प्रदर्शन गर्नेछन् ।


Back_to_top