राजश्वमा कमी र ईभी बजार ‘बुम’ भएपछि थाइल्याण्ड सरकारले घटायो अनुदान

काठमाडौं । पछिल्लो वर्ष ईभी बजार ‘बुम’ भएसँगै थाइल्याण्ड सरकारले घोषणा गरेको अनुदान रकम कम गर्ने निर्णय लिएको छ । थाइल्याण्ड सरकारले ईभीको माग बढ्दा राजश्वमा दवाव परेको भन्दै अनुदान रकम घटाउने निर्णय लिएको हो ।

इलेक्ट्रीक भेहिकल उत्पादनको हब बन्दै गएको थाइल्याण्डले ईभीको खरिदमा दिदै आएको अनुदान ३३ प्रतिशतले कटौती गरेको छ । यसअघि थाइल्याण्डको ‘नेशनल इलेक्ट्रीक भेहिकल पोलीसी कमिटी’ले उपलब्ध गराउँदै आएको १ लाख ५० हजार भाट अनुदान रकमलाई घटाएर अधिकतम १ लाख भाटसम्म मात्रै बनाउने घोषणा गरेको हो ।

सरकारले दिने अनुदान रकम अब २० हजार भाटदेखि १ लाख भाटसम्म मात्रै उपलब्ध हुनेछ । यो निर्णय थाइ सरकारले नोभेम्बर १ तारिखमा लिएको हो ।

अहिले घटाइएको अनुदान रकमको सन् २०२४ को सुरुवातबाट लागु हुनेछ । यसलाई सन् २०२७ सम्म निरन्तरता दिने थाइल्याण्ड सरकारले निर्णय लिएको हो ।

पछिल्लो समयमा थाइल्याण्डमा बढ्दो ईभीको प्रयोगका कारण अब अनुदान दिनु नपर्ने निर्णयमा थाइल्याण्ड सरकार पुगेको हो । यो वर्षको दोस्रो क्वाटरसम्म दक्षिण पूर्वी एसियामा बिक्री भएका कुल ईभी मध्य आधा थाइल्याण्डमा मात्रै बिक्री भएको थियो ।

थाइल्याण्डले सन् २०३० सम्ममा आफ्नो कुल भेहिकल उत्पादनको ३० प्रतिशत विद्युतीय कार बनाउने लक्ष्य लिएको छ । त्यसको लागि वार्षिक २५ लाख यूनिट विद्युतीय कार बनाउनु पर्ने हुन्छ ।

विश्वका धेरै देशले ईभीमा दिदै आएको अनुदान भटाभट घटाइरहेका छन् । त्यसको मुख्य कारण ईभीमा मानिसहरुको रुची हुनु र बिक्री पनि बुम हुनु मुख्य कारण हो ।


Back_to_top