ईभीमा अर्को गेमचेन्जर

काठमाडौं । विद्युतीय कारमा टाटा अग्रणी कम्पनी हो । भारतीय अटो निर्माता मध्ये सबैभन्दा ईभीमा आक्रमक टाटाको एकपछि अर्को आएको विद्युतीय कारले नेपालमा सफलता पाएको हो ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाल ल्याएको विद्युतीय कारहरुले बजारमा तरङ पैदा गर्नेगरी सफलता पाएको हामीले देखेका छौं । नेक्सन, टिगोरदेखि टियागोसम्मका मोडलले सफलताको स्वाद चाखे । हरेक मोडलले टाटालाई नेपालमा प्यासेन्जर कार सेग्मेन्टमा बलियो बनायो ।

सिप्रदी ट्रेडिङले सन् २०२१ को जुलाईबाट नेपालमा विद्युतीय कार आयात सुरु गरेको हो । ठ्याक्कैभन्दा उसले ईभी नेपाल ल्याउन थालेको तीन वर्ष पुरा भएको छ । तीन वर्ष अगाडि कम्पनीले नेक्सन ईभी मार्फत नेपाल प्रबेश गरेको हो ।

नेपाल आएको तीन वर्षमा झण्डै ३ हजार यूनिट नेक्सन बिक्री भयो । यसको मतलव नेक्सन औषतमा वार्षिक हजार यूनिट आयात भएको देखिन्छ । कुनै समय ५/६ महिनासम्म कुरेर नेक्सन ईभी किन्नु पर्ने अवस्था थियो ।

नेक्सनले सफलता पाउन थालेसँगै टिगोर ईभी नेपाल आयो । सेडान कारको रुपमा आएको टिगोरले पनि मानिसको ध्यान खिच्न सफल भयो । कम्पनीले अहिलेसम्म झण्डै १ हजार यूनिट टिगोर ईभी नेपाल ल्याएर बिक्री गरिसकेको छ ।

गतवर्ष भदौमा नेपाल आएको टियागो ईभीले सेग्मेन्ट नै उथलपुथ बनायो । नेपाल आएको एक वर्षभन्दा कम समयमा १ हजार ७०० यूनिटभन्दा बढी टियागो नेपाल आएको छ । यसले सिप्रदीलाई ईभी सेग्मेन्टमा बलियो बनाएको छ । अहिलेसम्म टाटाले सबै माेडल मिलाएर ५ हजार ५ सय यूनिटभन्दा बढी ईभी बिक्री गरेको देखिन्छ ।

नेपाल आयो अर्को गेमचेन्जर

टाटाकाे एकपछि अर्को ईभी मोडल सिप्रदीको लागि गेमचेन्जर बन्दै आएको छ । कम्पनीले नयाँ मोडलको रुपमा पन्च ईभी नेपाल ल्याइसकेको छ । यसलाई केहि दिनपछि नै कम्पनीले बजारमा उतार्ने छ ।

सम्भवत विगतमा जस्तै नाडा अटो शोलाई मध्यनजर गर्दै पन्च ईभीको बिक्री सुरु हुनेछ । अहिले आएको पन्च माइक्रो एसयूभी हो । शनरुफदेखि आधुनिक फिचरहरुले भरिएर आएको पन्चसँग अहिलेलाई प्रतिस्पर्धी नै छैन भन्न सकिन्छ ।

पन्चले जुन हिसावले भारतमा पेट्रोल भर्सनको ब्यापार गरिरहेको छ, त्यसलाई हेर्दा नेपालमा इलेक्ट्रीक भर्सनले जबरजस्त प्रभाव पर्नेछ । कम्प्याक्ट साइज, सुरक्षामा ५ स्टार रेटिङ, ठिक्ककाे रेन्ज र आधुनिक फिचर भएसँगै यसले जो कोहीलाई एक पटक आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।

यस्ता छन् फिचर

मिड रेन्ज (एमआर) र लङ रेन्ज (एलआर) गरी दुई फरक ब्याट्री साइजमा आउने पन्चमा २५ र ३५ किलोवाट आवरको ब्याट्री छ । भारतमा पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाट र लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर छ । नेपाल कुन मोटरमा आउँछ एकिन भएको छैन ।

पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।

यसमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।


Back_to_top