इलेक्ट्रीक कार चार्जिङ्गमा चमत्कार, तीन मिनेट चार्ज गर्दा १०० किमी गुडाउन सकिने

काठमाडौं । पछिल्ला दिनहरुमा इलेक्ट्रीक कारहरुको निर्माण र बजारमा सार्वजनिकसँगै चार्जिंग स्टेशनहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तर अझैपनि तिब्र किसिमले इलेक्ट्रीक कार चार्ज गर्न चुनौति रहँदै आएको छ ।

तर अब भने नयाँ पुस्ताका इलेक्ट्रीक कारहरुको ब्याट्री अहिले पेट्रोल पम्पमा ईन्धन भरेजस्तै समयमा चार्ज गर्न सकिने भएको छ ।

जर्मनीको बिएमडब्लू, पोर्स र सिमेन्सले संयुक्त रूपमा नयाँ प्रविधिको विकास गरेको बताएका छन्, जसले सूपर फास्ट चार्जिंगलाई वास्तविकतामा बदल्ने छ ।

गत बिहिबार उनीहरुले ४५० किलोवाटको चार्जिङ्ग स्टेशन सार्वजनिक गरे जसले केबल तीन मिनेटको चार्जमा १०० किलोमिटरसम्म इलेक्ट्रीक कार कुदाउन सकिन्छ । यो प्रविधिबाट इलेक्ट्रीक कारहरु केबल १५ मिनेटमा नै फुल चार्ज गर्न सकिने बताईएको छ ।

फाराडे इन्टिच्यूटका टेक्नोलोजी ट्रान्सफर प्रमुख इयान एलिङ्गटनले भने यो प्रविधि अहिलेको उपलब्ध प्रविधि भन्दा केही भएपनि राम्रो छ, तर यसलाई प्रयोगमा लानुभन्दा अगाडि यसमा भएका मूख्य समस्याहरुलाई समाधान गर्न आवश्यक छ ।

४५० किलोवाट टेस्लाको सूपरचार्जर (१२०किलोवाट) भन्दा निकै छिटो हो, र अहिलेको सबैतिर उपलब्ध र्‍यापीड चार्जरहरु भन्दा १० औं गुणा उत्कृष्ट हो, उनले भने ।

इलेक्ट्रीक कारहरुको सबैभन्दा प्रमुख समस्या भनेको अहिले बजारमा रहेको चार्ज गर्नका लागि निकै लामो समय लिनु हो । यसले रोडमा यात्रा गर्ने अवधिलाई ढिलो बनाउँछ र जो घरमा चार्ज गर्न सक्दैनन् ती इलेक्ट्रीक कार धनीहरुको लागि सबैभन्दा प्रमुख असुविधा हो ।

सार्वजनिक ४५० किलोवाट चार्जरलाई प्राक्टिकलमा प्रयोग गर्न अझै धेरै काम गर्नुपर्नेछ, जसमध्ये अहिले उपलब्ध इलेक्ट्रीक कारहरुको क्षमता वृद्धि पनि हो । हाल बजारमा उपलब्ध इलेक्ट्रीक कारहरुले यो क्षमताको चार्ज गर्न सक्दैनन् र तिनिहरुको ब्याट्री क्षमतालाई पनि बिस्तार गर्नुपर्ने हुन्छ ।

त्यसैगरि सूपर फास्ट चार्जको लागि अर्को समस्या भनेको अधिक मात्रामा बिद्युत आवश्यक पर्नेछ । सो सार्वजनिक ४५० किलोवाटको २० वटा चार्जिङ्ग स्टेशनले मात्रै ६ मेगावाटको पावर खपत गर्नेछ, जून एउटा सहरले खपत गरे बराबर हुन आउँछ ।


Back_to_top