काठमाडौं । चीनबाट दर्जनौ ब्राण्ड नेपाल आएका छन् । कति ब्राण्ड त नाम नै नसुनेका पनि आए । तर, चर्चित नामका केही ब्राण्ड अझै नेपाल आएका छैनन् ।
चिनियाँ बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चर्चामा रहेको एलआई अटो, नियो, जेटोर, जिली, आइटो, एवेज जस्ता ब्राण्ड अझै नेपाल आउन सकेका छैनन् । यी सबै ब्राण्ड चीनमा निकै चर्चामा रहेका ब्राण्डमा पर्छ ।
जिली ब्राण्डका दुई सहायक ब्राण्ड नेपाल आइसकेका छन् । जसमा एउटा जिकर र अर्को रेडारा हो । यी दुई ब्राण्ड आएपनि जिली ब्राण्ड नै भने नेपाल आएको छैन । यसका अलवा अन्य ब्राण्ड नेपाल आएका छैनन् । जिलीसँग करिब एक दर्जन सहायक ब्राण्ड छन् ।

चीनमा लेफ्ट ह्याण्ड ड्राइभ बजार हो । त्यहाँ उत्पादन भएका र बिक्री वितरण हुँदै आएका सबै मोडल नेपाल आउँदैनन् । किन भने नेपाल राइट ह्याण्ड ड्राइभ बजार हो ।
नेपालमा गाडी बिक्री वितरण गर्ने डिलर लिने घरानाहरु यी सबै ब्राण्डमा धाउन भने छाडेका छैनन् । उनिहरु जसरी पनि डिलरसीप लिने र नयाँ ब्राण्ड नेपाल ल्याउने दौडधुप मै छन् । तर, केही चल्तीका ब्राण्डले तत्काल आफुसँग राइट ह्याण्ड ड्राइभमा योजना नभएको भन्दै पन्छाउँदै आएका छन् ।
पछिल्लो छ महिनामा मात्रै चीनबाट करिब एक दर्जन ब्राण्ड नेपाल आए । जिकर, जेको, लीप, दिपल, नामी, डायुन, रेडारा, एक्सपेङ, अबतार जस्ता ब्राण्ड नेपाल आएका हुन् । अन्य आधा दर्जन ब्राण्ड नेपाल प्रबेश गर्ने तयारीमा छन् । यसले चिनियाँ कारको लागि नेपाल सहज बजार बन्न पुगेको छ ।


