काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले देशको विभिन्न ४३ स्थानमा फास्ट चार्जर लगाएको छ । पछिल्ला महिनामा निकै आक्रमक तबरले चार्जर बिस्तार गरिरहेको कम्पनीले सबै प्रदेशमा बलियो उपस्थिति बनाएको हो ।
कम्पनीले ३० किलोवाट क्षमताको डिसी चार्जर लगाएको छ । अहिले पूर्वको कोशी प्रदेशको ४ स्थानमा चार्जर लगाएको छ । उसले इटहरी, विर्तामोड, बिराटनगर र दमकमा चार्जर चलाइरहेको छ ।
त्यस्तै मधेस प्रदेशको बिरगंज, जनकपुर र बर्दिवासमा फास्ट चार्जर पाउन सकिन्छ । बागमती प्रदेश भित्र अनामनगर, नक्साल, ललितपुर, भक्तपुर, सोल्टीमोडमा चार्जर छ । गुहेश्वरी र कुरिनटारमा भने दुई दुईवटा चार्जर छन् ।
लुम्बिनी प्रदेशमा पनि कम्पनीको नेटवर्क निकै बलियो देखिन्छ । लुम्बिनी प्रदेश भित्र नेपालगंज, लमही, घोराही, अमेलिया, प्यूठान, भैरहवा, बुटवल, कोहलपुर र तुलसीपुरमा चार्जर राखेको छ ।
साइमेक्स इंकले गण्डकी प्रदेशमा दुई स्थानमा मात्रै चार्जर राखेको छ । जसमा डुम्रे र पोखरा हो ।
कम्पनीले ३० किलोवाट डिसी मात्रै होइन ४० किलोवाट क्षमताको एसी चार्जर पनि लगाएको छ । कम्पनीले लगाएको एसी चार्जर नेपालगंज, तुलसीपुर, धनगढी, काठमाडौं, बिराटनगर र चितवनमा संचालनमा छन् ।
छ वटा प्रदेशमा चार्जर उपलब्ध गराएको बीवाइडीले कर्णालीमा भने एउटा पनि चार्जर राखेको देखिदैन । दशैंमा यात्रा गर्ने बीवाइडीका गाडी चालकले यी स्थानमा गएर सहजै गाडस् चार्ज गर्न सक्छन् ।


