काठमाडौं । गत भदौको दोस्रो सातबाट निरन्तर चहलपहल भएको अटोमोबाइल बजारमा अहिले कारको बिक्री सुस्त भएको छ । ठूला चाडपर्व सकिएसँगै बजार सुस्त भएको हो ।
विगतमा पनि चाडपर्व सकिएपछि अटो बजार सुस्ताउने गरेको बिक्रेताहरू बताउँछन् । ‘विगतमा पनि चाडपर्वपछि बजार केही समय सुस्त नै हुने गर्थ्यो । अहिले पनि त्यस्तै भएको हो । अब अंग्रेजी नयाँ वर्षपछि बजारमा केही चहलपहल आउला,’ पारामाउन्ट मोटर्सका जनरल मेनेजर सुनिल क्षेत्रीले भने ।
क्षेत्रीका अनुसार जनवरीदेखि फेरि बजारमा चहलपहल सुरू हुनेछ । क्षेत्रीको जस्तै विचार राख्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल मेनेजर दीपक थपलिया । उनी भन्छन्, ‘अत्यावश्यक हुनेले चाडपर्वमा लिए । अब विस्तारै नयाँ वर्ष कुर्नेहरू हुन्छन्, त्यसैले केही सुस्त देखिएको हो ।’
गत वर्ष विद्युतीय कार बिक्री गर्नेहरूको बिक्री कमजोर भएको थिएन । पुसमा नै सरकारले ईभीमा कर बढाउने हल्ला चलाइएको थियो । त्यही कारण कर बढ्ने डरले धेरैले मंसिर, पुस र माघमा गाडी किनेका थिए । अहिले त्यस्तो अवस्था छैन ।
विद्युतीय कारमा पनि धेरै अप्सन आउनु, पेट्रोल कार बिक्रेताले पनि गाडी स्टकमा ल्याएर राख्नुभन्दा अर्डर अनुसार आयात थाल्नु र उपभोक्ता पनि विस्तारै किनौला नि भन्ने मनस्थितिमा पुग्दा अहिले केही बिक्री सुस्त भएको हो । सन् २०२५ लागेसँगै बजारमा आउने नयाँ प्रोडक्ट र अर्थतन्त्रमा देखिने सम्भावित सुधारले बिक्रीले रफ्तार समाउने अपेक्षा गरिएको छ ।
गाडी बिक्री केही सुस्त भए पनि चीनबाट आउने विद्युतीय गाडीको आयात कात्तिक महिनासम्म राम्रै संख्यामा भएको भन्सार तथ्यांकले देखाएको छ । कार्तिकमा ७५० यूनिटभन्दा केही धेरै विद्युतीय कार भन्सार पास भएर नेपाल आएका छन् ।

