काठमाडौं । नेपालमा बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ घोषणा गरेको छ ।
सीबीसीएफले नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि पहल कदमी स्वरुप उक्त प्रोजेक्ट घोषणा गरेको हो ।
विश्व जलचर जनावर दिवसका अवसरमा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरिएको हो । यस अभियानले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने फाउन्डेसनले जनाएको छ ।
नेपालमा बीवाइडी डल्फिन ईभी लोकप्रिय छ । बीवाइडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बीचको उल्लेखनीय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।
गंगा नदीका डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन् । जुन संसारभर ३ हजार ५०० भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ ।
उक्त कार्यक्रममा वन्यजन्तु संरक्षणमा दशकौं लामो योगदान गरेका ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षिय भोजराज श्रेष्ठलाई सम्मान गरिएको थियो । उनले डल्फिन संरक्षण कार्यका लागि नेपालमै पहिलो प्रयासको नेतृत्व गरेका थिए ।
उनले चरा र डल्फिनलाई पुग्ने हानिबाट बचाउनका लागि नेपालभरका बालबालिकाबाट ८ हजार भन्दा बढी गुलेली संकलन गरेको थिए । उनले जनचेतना र शिक्षाका लागि डल्फिन संरक्षण केन्द्रको समेत स्थापना गरेका थिए ।सो अवसरमा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक ‘डल्फिनको सपना’ समेत लोकार्पण गरिएको थियो ।
यो अभियान डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्य रहेको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए । ‘फाउन्डेसनबाट हामीले दिगोपना र वातावरण प्रवर्धनप्रति बीवाइडीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेका छौं,’ उनले भने ।
नयाँ प्रविधि र संरक्षणलाई जोड्ने कार्यमा अर्थपूर्ण पहल गर्ने कार्यलाई भविष्यमा समेत अझै बढावा दिने कार्यमा सदैव प्रतिबद्ध रहने साइमेक्स बीवाइडी फाउन्डेसनले जनाएको छ ।


