काठमाडौं । जापनीज अटोमोबाइल कम्पनी होन्डा ईभी विकासको योजनाबाट पछाडि हटेको छ । कम्पनीका सीईओ तोसीहिरो माइबले होन्डा अब इलेक्ट्रीक भेहिकलमा नभएर हाइब्रिड टेक्नोलोजीमा केन्द्रित हुने बताए ।
जापानको दोस्रो ठूलो सवारी उत्पादक होन्डा मोटर सन् २०३० सम्ममा आफ्नो कुल भेहिकल बिक्रीको ३० प्रतिशत ईभी बनाउने योजनाबाट पछि हटेको छ । विश्वभर ईभीको मागमा आएको कमीसँगै होन्डाले आफ्नो निर्णय परिवर्तन गरेको हो ।
जापानी मोटर निर्माताले यसै महिनाको सुरुवातमा क्यानडाको अन्टारियोमा १०.७ बिलियन डलर लगानी गरेर प्लान्ट स्थापना गर्न लागेको थियो । ईभी उत्पादनमा केन्द्रित हुने भनिएको नयाँ प्लान्ट निर्माण २ वर्षपछि सारेको जनाएको छ ।
तत्काललाई ईभीमा लगानी स्थगन गरेको जापानी निर्माताले सन् २०४० सम्ममा नयाँ बिक्री हुने कार ब्याट्री इलेक्ट्रीक वा फ्यूलसेल टेक्नोलोजीमा आधारित रहने घोषणामा भने आफु अडिग रहेको सीईओ तोसीहिरोले बताएका छन् ।
होन्डाले सन् २०३० सम्ममा इलेक्ट्रीफिकेसन र सफ्टवेरमा गर्ने भनेको लगानी ३० प्रतिशतले घटाउने जनाएको छ । कम्पनीले सन् २०२७ बाट ४ वर्ष भित्र १३ वटा नयाँ जेनेरेशन हाइब्रिड मोडल बजारमा ल्याउने जनायो । होन्डाले अहिले पनि विश्वभर सिभिक ह्याचव्याक/सेडान, अकर्ड र सीआर-भी गरी दर्जन बढी हाइब्रिड मोडल बिक्री गरिरहेको छ ।
जापानी निर्माताले ठूलो साइजका मोडलहरुको लागि पनि हाइब्रिड सिस्टमको विकास गरिरहेको छ । कम्पनीले सन् २०३० सम्ममा वार्षिक २२ देखि २३ लाख हाइब्रिड मोडल बेच्ने लक्ष्य राखेको छ । होन्डाले सन् २०२४ मा ३८ लाख कार बिक्री गर्दा ८ लाख ६८ हजार हाइब्रिड मोडल बिक्री गरेको थियो ।

