नेपालमा १०/१० हजार किमी टेस्ट पूरा गर्दै महिन्द्राका दुई ईभी

काठमाडौं । भारतीय उत्पादक महिन्द्राका दुई इलेक्ट्रीक एसयूभी अहिले नेपालमा परीक्षण भइरहेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने बीई-सिक्स र एक्सईभी-नाइन ई दुवै मोडलले १०/१० हजार किलोमिटर परीक्षण पूरा गर्न लागेका हुन् ।

आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शन हुने यी दुई ईभी नेपालका विभिन्न सडकमा परीक्षण भइरहेको महिन्द्राले जनाएको छ । कम्पनीले बिक्री सुरू हुनु अगाडि हिमाल पहाड र तराईका सबै प्रकारका भूगोलमा परीक्षण गरिरहेको हो ।

अहिले दुवै मोडलका ३/३ युनिट नेपाल ल्याएर परीक्षण गरिरहेको महिन्द्रा नेपालका कन्ट्री हेड चैतन्य कागल्करले बताए ।

‘नेपालको सबै प्रकारका सडकमा १० हजार किलोमिटर परीक्षण गरेर मात्रै बिक्री सुरू गर्छौं,’ कागल्करले मेरोअटोसँग भने ।

आफूहरू विश्वस्त भएपछि मात्रै गाडी बिक्री सुरू गर्ने बताउँदै कागल्करले भने, ‘ परीक्षण गर्दा एसी चार्जर, डिसी फार्ट चार्जिङ, कनेक्टिभिटी, रेन्ज, पावर पर्फमेन्स, ग्राउण्ड क्लियरेन्स लगायत विषय परीक्षण गरिरहेका छौं ।’

महिन्द्राले नेपाल ल्याएको दुवै एसयूभीमा समान साइजको दुई ब्याट्री अप्सन दिइएको छ । जसमा ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका दुई फरक ब्याट्री छन् ।

हिमाली सहर जोमसोम, रसुवागढी, तातोपानीदेखि सुदूरपश्चिम, सुदूरपूर्व, लगायतका नेपालका प्रमुख शहरहरूमा परीक्षण भइरहेको महिन्द्राले जनाएको छ ।

आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले गत जेठ ११ गते प्रकाशित गरेको मूल्यसूची अनुसार महिन्द्राले बीई-सिक्सको सुरुवाती मूल्य ७६ लाख ३० हजार र एक्सईभी-नाइन ईको सुरुवाती मूल्य ७७ लाख ६५ हजार रुपैयाँ तोकेको थियो । कम्पनीले यी एसयूभी ९९ र १९९ किलोवाटसम्मका दुई फरक मोटर अप्सन ल्याउने छ ।


Back_to_top