काठमाडौं । बिहीबार (हिजो) साँझ बीवाइडीले आफ्नो दोस्रो एसयूभी सिलायन-सेभेन बजारमा उतारेको छ । कम्पनीले ७२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर ल्याएको सिलायनलाई टक्कर दिन आइएम मोटर्सको ‘आइएम-सिक्स’ बजारमा ल्याउने भएको हो ।
मूल्यको हिसाबले पनि लगभग एउटै मूल्य रहने देखिएको छ । आइएम-सिक्सलाई एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याएको हो । चीनमा आइएम मोटर्स र एमजी मोटर्सको स्वामित्व एउटै एसएआईसी ग्रुपसँग छ । त्यसैले एमजीकै शोरुमबाट आइएम-सिक्सको बिक्री हुने पारामाउन्ट मोटर्स स्रोतले बतायो ।
‘हामी आगामी एक साता भित्रै आइएम-सिक्सको बिक्री थाल्नेछौं । अहिले नै १० युनिट आइएम-सिक्स नेपाली सडकमा गुड्दै आएको छ । यस्तोमा आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखेर जानेगरी आइएम सिक्स बजारमा ल्याउन लागेका हौं,’ कम्पनी स्रोतले भन्यो ।
प्रिमियम क्रसओभर सेग्मेन्टको बजार तीव्र गतिमा विस्तार भइरहँदा प्रतिस्पर्धा थपिन लागेको हो । यो सेग्मेन्टमा अहिलेसम्म दीपल एस-०७ मात्रै थियो । अब दुई मोडल थपिने भएका हुन् ।
साइजमा प्रतिस्पर्धा
साइजको आधारमा आइएम-सिक्स ठूलो देखिएको छ । यसको लम्बाइ ४९०४ एमएम, चौडाइ १९८८ एमएम, उचाइ १६६९ एमएम र ह्वीलबेस २९५० एमएम लामो छ ।
बीवाइडी सिलायन-सेभेनको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम र ह्वीलबेस २९३० एमएम लामो छ । सबै कुरामा आइएम-सिक्स ठूलो देखिएको छ । ह्वील साइज भने दुवैमा एउटै २० इन्चको पाउन सकिन्छ ।
टेक फिचर
बीवाइडी सिलायन-सेभेनमा १५.६ इन्चको रोटरी सेन्टर टचस्क्रीन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२ वटा स्पीकर सहितको इनकार अडियो सिस्टम, भेहिकल टु लोड फङ्सन, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, सेल टु बडी टेक्नोलोजी, एडास फिचर, डबल बिसवोन मल्टिलिङ्क सस्पेन्सन दिएको छ । यसमा बीवाइडीको गर्डस् आई ड्राइभिङ एसिस्ट पाउन सकिन्छ ।
दुवै गाडी अत्याधुनिक फिचरले भरिपूर्ण छ । आइएम-सिक्समा ‘एडी नाम’को स्मार्ट ड्राइभिङ असिस्ट दिइएको छ । यसको प्रयोगले कारलाई चालकको भन्दा ६.७ गुणा बढी सुरक्षीत बनाउने कम्पनीको दावी छ । कम्पनीले यसमा पार्किङ सेन्सर मात्रै ३०० वटा प्रयोग गरेको दाबी गर्छ ।

एसएआइसी ग्रुपले क्रसओभर एसयूभीमा हाइप्रिकसन लाइडार, एनभिडियाको ड्राइभ अर्गेन चीप, क्वालकमको स्न्यापड्रागन एसए ८२९५ पी प्लेटफर्म सहितको ककपिट दिएको छ ।
ब्याट्री साइज र मोटर
बीवाइडी सिलायन-सेभेनमा ८२.५६ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले ४८२ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई कम्पनीले १०० किलोवाटको मोटरमा ल्याएको छ ।

आइएम-सिक्समा ७५ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री छ । यसले ४५० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । सम्भवतः १०९ किलोवाटको क्षमताको मोटरमा आइएम-सिक्स नेपाल आउने छ । ब्याट्री साइजको आधारमा बीवाइडी सिलायन-सेभेन अगाडि छ । मोटर भने आइएम-सिक्समा केही ठूलो हुनेछ ।


