महिला ट्याक्सी चालक विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

चिप्लेढुङ्गा । ‘ट्याक्सी गुृड्यो सरर पोखराको बजारमा 

लौ न म त छक्क परेँ तिम्रो नजरमा’ (तिलकबम मल्ल) 

चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ । 

गण्डकी प्रदेशमा झण्डै ६ हजार ट्याक्सी दर्ता छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ । सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुन् । मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गरेका छन् । 

सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गरेकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गरेकी थिइन् । दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देखिन्थ्यो । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे । उनलाई लाग्यो महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र ? उनलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित गर्यो । 

विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिकेकी उनले लगत्तै अनुमतिपत्र पनि लिइन् । श्रीमान्लाई आफूले ट्याक्सी चलाउन चाहेको बताइन्, तर उनले स्वीकृति पाइनन् । पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिनुभयो । कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमान्को साथ पनि थपियो । 

उनले मासिक २८ हजार रुपैयाँ किस्ता बुझाउने गरी बैंकबाट १३ लाखमा नयाँ मारुती अल्टो गाडी किनिन् । विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उनी देशका कुनाकन्दरा पुगिरहेकी छिन् । धेरै रातका बाटो छिचोलेकी छिन् । बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाउन पनि सिकेकी छिन् । आफ्नो कामप्रति उनलाई उत्तिकै आत्मसम्मान छ । उनी निकै सन्तुष्ट छिन् । 

हताश, निराश र अल्छी नमान्ने होे भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउँछिन् । उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउनुहुन्छ । दुवैको आम्दानी सन्तोषजनक छ । रिजर्भमा उनको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन् । यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ । 

पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देखिन् । चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाइन् । यस्तो भइरहन्छ । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आएकी छिन् । आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् । 

कुँवर भन्छीन् ‘सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन । आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन ।’ यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उनी बताउँछिन् ।  

सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ । सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो”, उनले भने । सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उनको विश्वास छ ।


Back_to_top