काठमाडौं । आइएमई मोटर्सको व्यापारमा सुधार आएको छ । पछिल्लो समय कमर्शियल सवारी साधनको बिक्रीमा सुधार आउँदा कम्पनीको व्यापार बढेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२५ को ९ महिनामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) बराबरको व्यापार गरेको छ । कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँ ऋण लिनका लागि गराएको रेटिङमा उक्त कुरा उल्लेख गरेको हो ।
सन् २०२५ मा कम्पनीको व्यापार गत वर्षको तुलनामा बढ्ने देखिएको हो । सन् २०२४ मा कुल २ अर्ब ३४ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ को ९ महिनामा गत वर्षभरीकोभन्दा १३ करोड मात्र कम रहेकाले ३ महिनामा सोभन्दा बढी व्यापार हुने देखिन्छ ।
कम्पनीले सन् २०२२ मा सर्वाधिक ३ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा १ अर्ब ८३ करोड, सन् २०२१ मा २ अर्ब ३७ करोड र सन् २०२३ मा १ अर्ब ७५ करोड रुपैयाँ व्यापार गरेको इक्राको रेटिङ विवरणमा उल्लेख छ ।

आइएमई मोटर्सले ३ अर्ब २५ करोड रुपैयाँ ऋण लिँदैछ । जसमा इक्राले कम्पनी २ अर्ब १२ करोड रुपैयाँ दीर्घकालीन ऋणका लागि ‘इक्रा एनपी एलबी माइनस’ रेटिङ दिएको छ भने १ अर्ब १२ करोड अल्पकालीन ऋणका लागि ‘इक्रा एनपी एफोर’ रेटिङ दिएको छ ।
आइमएई मोटस अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीले बस, ट्रक, ट्रिप्पर, लाइट कमर्शियल भेहिकलहरु बिक्री गर्दै आएको छ ।
आइएमई मोटर्स सन् २०१० मा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको नाममा स्थापना भएको थियो । सन् २०१७ मा यसको नाम परिवर्तन गरी आइएमई मोटर्स प्राइभेट लिमिटेड बनाइएको थियो ।

