चीनबाट ईभी ल्याउने मुख्य नाका बन्दै कोरला, १५ दिनमै भित्रिए ११०९ युनिट

काठमाडौं । मुस्ताङस्थित कोरला नाका चीनबाट विद्युतीय सवारी (ईभी) आयात गर्ने मुख्य नाका बन्न थालेको छ ।

तातोपानी र रसुवागढी नाकाको विल्पकमा संचालनमा ल्याइएको कोरला नाकाबाट अहिले चीनबाट ईभी गर्ने मुख्य नाका बनेको हो ।

बाढीपहिरोको कारण तातोपानी र रसुवागढी नाका असार तेस्रो सातादेखि बन्द भएपछि व्यवसायीले विकल्पमा कोरलाबाट ईभी आयात गर्न थालेका हुन् । यी दुवै नाकाको तुलनामा कोरलाबाट सामान ल्याउन समय र ढुवानी लागत बढी लाग्छ । तर, पानीजहाजबाट भारत हुँदै ल्याउँदाभन्दा कम लाग्ने भएकाले व्यवसायीले कोरलाबाटै ल्याउन थालेका हुन् ।

गत भदौ ३० गतेदेखि नियमित संचालनमा आएको कोरला नाकाबाट दुई साता (असोज १४ गतेसम्म) १ हजार १०९ युनिट ईभी आयात भएका छन् । यो यस वर्ष चिनियाँ नाकाहरु मध्येबाट आयात भएको सबैभन्दा धेरै ईभी हो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरी संचालनमा ल्याइएको थियो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले असोज १४ गते बिहानसम्म १ हजार १०९ युनिट ईभी भन्सार यार्डमा आइपुगेको जानकारी दिए । उनका अनुसार तीमध्ये ९६५ युनिट ईभीको भन्सार जाँचपास सम्पन्न भई गन्तव्यतर्फ गइसकेका छन् । भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँचपाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।

‘भदौ ३० देखि न्हेचुङ भन्सार कार्यालय संचालनमा आएसँगै चीनबाट धमाधम सामान आइरहेको छ । १५ दिनमै ११०९ युनिट ईभी आएका छन् । तीमध्ये ९६५ युनिट भन्सार जाँचपास भइसके । बाँकी पनि प्रक्रियामा छन्,’ उनले भने ।

कोरला नाका हुँदै बीवाइडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लीमोटर बी १० लगायत ईभी आयात भएका हुन् ।

त्यस्तै, दुई साताको अवधिमा चीनबाट ३७५ वटा मालवाहक ढुवानी कन्टेनर आएको उनले बताए । ती सबै कन्टेनर जाँचपास भइसकेको उनले जानकारी दिए । व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका हुन् ।

ठूलो परिमाणमा ईभी र मालवस्तु आयात हुँदा उल्लेख्य मात्रमा राजस्व संकलन भएको छ । १५ दिनमा २ अर्ब २ करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।

कोरलाबाट सामान आयात मात्र होइन निर्यात पनि सुरू भएको छ । यस अधिमा ५ कन्टेनर सामान चीनतर्फ निकासी भएका छन्। नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको उनले बताए ।

चीनबाट आयात गरिएको सामानको सहज जाँचपासका लागि प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ । उनले लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको बताए ।


Back_to_top