काठमाडौं । टाटा मोटर्सको नयाँ एसयूभी एक दिनमै ७० हजार युनिट बुकिङ भएको छ । सियरा कम्पनीको सबैभन्दा छिटो बुकिङ भएको मोडल बनेको हो ।
सियरा एसयूभी बिभिन्न भेरियन्ट अनुसार ११ लाख ४९ हजारदेखि २१ लाख ४९ हजारसम्म मूल्य तोकेर बुकिङ खुला भएको थियो । यसलाई बुकिङ गर्न चाहनेले २१ हजार भारतीय रुपैयाँ टोकनको रुपमा बुझाएका छन् । अहिले बुकिङ गर्ने उपभोक्तालाई जनवरी १५ तारिखबाट डेलिभरी सुरु गर्ने टाटा मोटर्सले जनाएको छ ।
टाटा मोटर्सले १९९१ मा प्रयोग गरेको सियरा नामको एसयूभीलाई मोडर्न डिजाइन र फिचरले भरिपूर्ण बनाएर बजारमा ल्याएसँगै यसको बम्पर बुकिङ भएको हो ।
अहिले पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध सियरा छिट्टै ईभीमा पनि आउने कम्पनीले जनाएको छ । पेट्रोलमा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन प्रयोग भएको सियरामा १.५ लिटर टर्बो पेट्रोल अप्सन पनि उपलब्ध छ । डिजेल इन्जिन भने २.० लिटरमा छ ।
मोर्डन डिजाइनमा तयार पारेको सियरामा अगाडि कनेक्टेड एलईडी लाइटबार छ । लोअर ग्रिलमा सिल्भर कलरको स्कीड प्लेट पनि प्रयोग भएको छ । कम्पनीले सियरा एसयूभीमा फ्लस डोर ह्याण्डल, थिक ब्ल्याक ग्लसी बडी क्लाइडिङ, फरक डिजाइनको बी पिल्लर र अपराइट डिजाइनको रियर इण्ड दिएको छ । टप भेरियन्टको क्याबिनमा तीन वटा स्क्रृन उपलब्ध छ ।
नेपाली बजारमा पनि सिप्रदी ट्रेडिङले आगामी फेब्रुअरीसम्ममा सियरा पेट्रोल इन्जिनमा बिक्री थाल्ने योजना बनाएको छ । सुरुमा पेट्रोलियम पदार्थबाट चल्ने सियरा ल्याउने र पछि ईभी ल्याउने रणनीतिमा सिप्रदी जुटेको छ ।


