भारतीय सवारीलाई प्रवेश शुल्क दोब्बर बनाउन माग, यस्तो छ दैनिक शुल्क

काठमाडौं । भारतबाट नेपाल आउने सवारी साधनले दैनिक रुपमा तिर्ने शुल्क दोब्बर बनाउन माग गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेट मार्फट शुल्क दोब्बर बनाउन माग गरेको हो । 

हाल भारतबाट नेपाल प्रवेश गर्ने कार/जीप/भ्यानले दैनिक ४ सय ८० रुपैयाँ तिर्दै आएका छन् । अन्य मालबाहक लगायत अन्य सवारीसाधनले पनि दैनिक ४ सय ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । 

त्यस्तै नाडाले आगामी अर्थिक वर्षदेखि भारतबाट नेपाल आउने मालबाहक तथा अन्य सबै सवारीसाधनलाई ३० दिन भन्दा बढीको समयावधी नदिनसमेत माग गरेको छ । नाडाले सरकारलाई आगामी आर्थिक वर्ष २०७६/०७७ लागि संस्थाको तर्फबाट दिइएको सुझावमा भनिएको छ ‘भारतबाट इन्डियन नम्बर प्लेटमा नेपालमा आउने सवारी तथा ढुवानीका साधनहरुमा भन्सार विन्दुहरुमा प्रतिदिन जुन दरमा रकम उठाउने गरेको छ त्यसमा शतप्रतिशत वृद्धि गरिनु पर्ने तथा ती साधनहरुलाई ३० दिनसम्म मात्र नेपाल बस्न पाउने व्यवस्था गर्नु पर्ने सुझाव दिइएको छ ।’ 

भारतीय नम्बर प्लेटका सवारीसाधन सीमा क्षेत्रमा बस्नेहरुले सँधैका लागि प्रयोग गर्ने गरेको भेटिएकाले नाडाले सरकारलाई यस्तो सुझाव दिएको हो । त्यतिमात्र होइन नेपाल भित्रिएका सवारीसाधन महिनौं नेपाल बस्ने गरेकाले नाडाले शुल्क समेत बढाउन भनेको हो । 

नाडाको सुझाव अनुसार शुल्क वृद्धि भए कार÷जीप÷भ्यानले तथा मालबाहक सवारीले नेपाल प्रवेश गरेबापत ९ सय रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै त्यस्ता सवारीहरु ३० दिनभन्दा बढी नेपाल बस्न पाउने छैनन् ।  


Back_to_top