यी चार चुनौति पार गर्दै बन्ला नेपालमै कार

अटो क्षेत्र भनेको नविनतम प्रविधिहरुको सार्थक प्रयोग गर्ने क्षेत्र हो, जसले यो क्षेत्रमा नयाँ आविष्कार र तरङ्गहरु ल्याइरहन्छन् । विशेषत यो क्षेत्रलाई उज्वल भविष्य भएको क्षेत्र मान्ने गरिन्छ । 

बिशेषगरि पछिल्लो समय भएको प्रविधिको विकासले यो क्षेत्रले ग्राहकहरुलाई दिने सेवा एक तह माथि उक्लेको छ । 

तर, सिक्काको अर्को पाटो पनि छ । सफलताको बाटो गुलाबको फुलहरु बिछ्याएको बिछ्यौना जस्तो सुन्दर र मुलायम भने पक्कै छैन । 

अहिले ग्राहकहरु सेवालाई लिएर धेरै सचेत भैसकेका छन् । जसको कारण यो क्षेत्रलाई बजारको मागसँग खरो उत्रनु पर्ने चुनौति रहेको छ । ग्राहकका माग सम्बोधन र बजारको चञ्चल चालबीचको समन्वय खोज्नु फलामको च्युरा चपाउनु जस्तै छ । 

यो चुनौतिका अलावा अहिलको अटो क्षेत्रका अन्य ४ मुख्य चुनौतिका विषयमा यहाँ चर्चा गरिएको छ ।

भूमण्डलीकरणको उदय 

भुमण्डलीकरणको बिस्तार पक्कै पनि अटो क्षेत्रको लागि खुसीको खबर हो । तर, ब्यवसायको सञ्चालन बिश्वब्यापी रुपमा फैलिदैं गर्दा कम्पनीहरुका लागि बेग्लै खाले चुनौति पनि थपेको छ । 

बिश्वब्यापी रुपमै साधनस्रोतको आपुर्तीको स्रोतमा आएको परिर्वतन र नयाँ बन्दै गरेको बजारबाट फाइदा लिने रणनीतिहरु तय गर्नु पर्ने हुनाले ब्यापार र गाडीको आपुर्तीका सम्बन्धमा नयाँ चुनौति देखापरेका छन् । जसको मतलब यस क्षेत्रका कम्पनीले विदेशि बजार, आपुर्ती श्रृंखला र अन्य सञ्चालन रणनीतिको बारेमा गहिरो ज्ञान राख्नु अत्यावश्यक भैसकेको छ । 

आबिष्कार नै समयको माग 

अटो क्षेत्र संसारको ठूलो क्षेत्र मध्येको एक हो । जसको मतलब, यो क्षेत्रमा प्रतिस्पर्धाको कमी छैन । र, प्रविधिको तिब्र विकासले यो क्षेत्रले निरन्तर रुपमा आफुलाई अद्यावधिक गर्नुपर्ने भएको छ । 

अर्को ग्राहकको माग चुस्त ढंगले सम्बोधन गर्नुपर्ने छ । यस्तो अवस्थामा आफ्नो नाफालाई कायम गर्दै ग्राहकहरुको माग पुरा गर्ने सृजनशिल उपायहरु खोज्नु पर्ने चुनौति सवारी उत्पादक माझ खडा भएको छ ।

बढ्दो नियमन

अटो क्षेत्रको सबैभन्दा ठूलो अप्ठ्यारो भनेको उत्र्सजन र इन्धन खपत सम्बन्धी बढ्दो नियमन हो, बिशेष गरि पश्चिमा समाजमा । कुनै एउटा मात्र मोडलमा यस्ता नीति नियमको पालना गर्नु कुनै पनि अटो कम्पनीका लागि धेरै ठूलो कुरा नहोला । तर, अमेरिकामा त कम्पनीको पुरै ‘मोडल लाइनअप’ नै परिर्वतन गर्नुपर्ने बाध्यता छ । ट्रकदेखि एसयुभीसम्म । 

अटो कम्पनीहरुले तत्काल इन्धनको खपत कम्तीमा २० प्रतिशत र सन् २०२५ सम्म पुग्दा ६० प्रतिशतले घटाउनु पर्ने बाध्यता छ । यसले गाडी उत्पादकको टाउको दुःखाउने पक्का छ ।

लागत सन्तुलनमा राख्नु

अटो क्षेत्रका खेलाडीहरुले आफ्ना धेरै ग्राहकहरु ‘इन्टलिजेन्स र कनेक्टिभिटी’ भएका गाडी तर्फ आकर्षित भएको चाल पाइसकेका छन् । तर, यस्ता स्मार्ट गाडी र ट्रकहरु डिजाइन र उत्पादन गर्नु सहज काम होइन । र, यसमा जोखिमहरु छन् । 

साथै, नयाँ प्रबिधि र तथ्याङक आत्मसात गर्न धेरै नै लागत लाग्छ । त्यसैले लागतमा सन्तुलन कायम राख्दै नयाँ प्रविधि भित्राउनु ठूलो चुनौति हो । 

नेपालमा गाडी उत्पादन

माथि उल्लेख गरिएका चुनौतिलाई हेर्ने हो भने तत्कालको समयमा नेपालमा गाडी उत्पादन सम्भव छैन भन्दा गल्ति नहोला । यद्यपी हाम्रो देशको विषयमा अहिल्यै यति धेरै कुराले असर गर्ने छैन । 

हामी अहिलेपनि सवारी साधनमा प्रयोग गर्ने सबै किसिमका पाटर्सदेखि रबरजन्य उत्पादनसमेत बाहिरबाट आयात गरिरहेका छौं । तर, हामीले धेरै समयपछि गाडी उत्पादन गर्ने विषयलाई केन्द्रमा राखेर चर्चा सुरु गरेको अहिलेको समयमा केही पाटर्स वा रबरजन्य उत्पादनसँगै गाडी एसेम्बल गर्ने प्लान्ट लगाउन सकिने अबस्था सृजना भएको छ । त्यसकालागि केही कम्पनीले प्रयाससमेत थालेका छन् । हामी कहाँ गाडी एसेम्बलका लागि एफडीआईदेखि स्वदेशी लगानीसम्मले प्रस्ताव पेश गरिसकेका छन् ।


Back_to_top