ट्रायम्फको नयाँ ३५० सीसीको मोटरसाइकलको परीक्षण सुरू

काठमाडौं । ट्रायम्फ इन्डियाले ३५० सीसी सेग्मेन्टमा आधारित नयाँ मोटरसाइकलको सडक परीक्षण सुरू गरेको छ ।
भारतमा ट्रायम्फको आधिकारिक वितरक बजाज अटोले स्पीड टी ४ मा आधारित नयाँ ३५० मोडलको परीक्षण सुरू गरेको हो ।

कम्पनीले नयाँ ट्रायम्फ ३५० मोटरसाइकल भारतका सडकमा परीक्षण गरिरहेको तस्बिरहरू सार्वजनिक भएका छन् ।

स्पाइ तस्बिरहरू हेर्दा मोटरसाइकल अहिले बिक्रीमा रहेको स्पीड टी ४ मोडेलसँग लगभग मिल्दोजुल्दो देखिन्छ। यसमा कुनै डिजाइन परिवर्तन, नयाँ फिचर, वा कस्मेटिक अपडेट भएको देखिँदैन । मोटरसाइकलको कलर समेत उस्तै छ । कम्पनीले नयाँ ३५० मोडलमा स्मार्ट रणनीति अपनाउँदै इन्जिन सेक्सनमा मात्रै परिवर्तन गरेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार कम्पनीले ट्रायम्फ टी ४ को इन्जिन पावरलाई मात्र परिमार्जन गरेर यसको क्षमता ३५० सीसी बनाउने योजना बनाएको देखिन्छ। यसको अर्थ डिजाइन, फिचर र अन्य मेकानिकल पार्टहरू उस्तै रहने छन् ।

ट्रायम्फले ३५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा कर बढेपछि नयाँ ३५० सीसी लाइनअपमा काम गरिरहेको कुरा पहिले नै पुष्टि भइसकेको छ। साथै, भारतमा ट्रायम्फका केही डिलरशिपहरूले नयाँ ३५० सीसी मोटरसाइकलको लागि अनौपचारिक रूपमा बुकिङ पनि लिइरहेको रिपोर्ट केहि समय अघि भारतीय मिडियाहरुमा आएको थियो । ट्रायम्फले मूल्य कम गराउनकै लागि यो निती अपनाएको बुझ्न सकिन्छ ।

कम्बस्चनमा परिवर्तन हुने

मोटरसाइकलमा इन्जिनको आधारभूत संरचना जस्ताको तस्तै राखिए पनि यसको कम्बस्चनमा परिवर्तन गरिनेछ । उदाहरणका लागि कम्प्रेसन रेसियो मिलाइनेछ र कम्बसन च्याम्बरमा सुधार गरिने छ, ताकि राम्रो प्रदर्शन मिलोस् । यसमा पिस्टनको डिजाइन भने परिवर्तन हुन सक्छ ।

ईसीयू रिम्यापिङ गरेर नयाँ फ्युल इन्जेक्सन म्याप र इग्निसन टाइमिङ समायोजन गरिनेछ । यी परिवर्तनहरूले थ्रोटल रिस्पोन्स सुधार्ने र माइलेज बढाउने अपेक्षा गरिएको छ । त्यस्तै, क्यामशाफ्ट, भल्भ टाइमिङ, एयरबक्स फ्लो, कूलेन्ट फ्लो म्यापिङ र क्लच ट्युनिङमा पनि सुधार हुनेछ।

अनौपचारिक रूपमा हेर्दा, ३५० सीसी इन्जिनको पावर ४०० सीसीको भन्दा ३-५ पीएसले कम हुन सक्छ। हालको स्पीड टी ४ मा ४०० सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डिओएचसी इन्जिन छ, जसले ३१ पीएस पावर र ३६ एनएम टर्क जेनेरेट गर्छ।

यसका अलावा नयाँ ट्रायम्फ ३५० मा फ्रेम, सस्पेन्सन सेटअप र ब्रेकिङ सिस्टम जस्ता अन्य हार्डवेयरहरू भने प्रायः उस्तै रहने अनुमान गरिएको छ।


Back_to_top