तेल उत्पादन बढाउने ओपेक प्लसको निर्णय

काठमाडौं । तेल उत्पादन गर्ने देशहरूको समूह ‘ओपेक प्लस’ले तेल उत्पादन बढाउने निर्णय गरेको छ ।

आइतबार बसेको ओपेक प्लसमा ८ सदस्य राष्ट्रहरूको भर्चुअल बैठकले मे महिनामा दैनिक २ लाख ६ हजार ब्यारेल थप तेल उत्पादन गर्ने निर्णय गरेको हो ।

बैठकमा साउदी अरेबिया, रुस, इराक, यूएई, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानका प्रतिनिधि सहभागी थिए । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भएपछि उनीहरूले उत्पादन बढाउने निर्णय गरेका हुन् ।

ओपेक प्लसले अप्रिल २०२३ मा पहिलो पटक दैनिक स्वेच्छिक रुपममा साढे १६ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको थियो । त्यसलाई क्रमशी फिर्ता लिँदै मेमा प्रतिदिन २ लाख ६ हजार ब्यारेलले उत्पादन बढाउन सहमति जनाएका हुन् ।

यो वृद्धिको नेतृत्व साउदी अरेबिया र रुसले गरिरहेका छन्, जसमध्ये दुवैले प्रतिदिन ६२ हजार ब्यारेल थप्नेछन्। इराकले प्रतिदिन २६ हजार, यूएईले प्रतिदिन १८ हजार ब्यारेल थप्नेछ । बाँकी कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानले उत्पादन गर्नेछन् ।

यो निर्णय मध्यपूर्वमा जारी सैन्य द्वन्द्वका बीच ती आठ देशहरूले ऊर्जा आपूर्तिको निर्बाध प्रवाह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षाको महत्त्व औंल्याएका छन् ।

ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन्, जसले समग्र आपूर्ति उपलब्धतामा असर पारेको छ । उनीहरूले क्षतिग्रस्त ऊर्जा संरचनाहरूलाई पूर्ण क्षमतामा पुनस्र्थापना गर्न महँगो र धेरै समय लाग्ने समेत बताएका छन् ।

गत फेब्रुअरी २८ अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्वभर इन्धन संकट बढ्दो छ । जसका कारण कच्चा तेलको उत्पादन र आपूर्ति घटेको छ भने मूल्य अस्वभाविक रुपमा बढिरहेको छ ।


Back_to_top