काठमाडौं । विद्युतीय कारको बिक्री विश्वव्यापी रूपमै तीव्र गतिमा बढ्दै गएको छ । प्योर ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड, हाइब्रिड र रेन्ज एक्सटेन्डेड हाइब्रिड कारलाई पनि ईभी कै रूपमा लिने गरिएको छ ।
यी सबै सवारी साधनमा हाइभोल्टेज ब्याट्री प्रयोग हुने भएको कारण ईभी उत्पादनसँगै ब्याट्री उत्पादन थप कम्पनीहरू आक्रमक बनेका हुन् । नयाँ-नयाँ ब्याट्रीको खोजसँगै पुरानो टेक्नोलोजीको ब्याट्री प्रयोग भएका कारहरू के होलान् भन्ने चिन्ता धेरैमा रहेको पाइन्छ ।
लिथियम आयन ब्याट्रीको विकल्पमा अहिले धेरै किसिमका खोजहरू बाहिर आएका छन् । लिथियम ब्याट्रीमा पनि तीव्र गतिमा चार्ज हुने टेक्नोलोजी विकास भइसकेको छ । लिथियम ब्याट्रीको लागि चाहिने धातुहरूको संरक्षण गर्नु पर्ने भन्दै धेरै ब्याट्री उत्पादकले त्यसको विकल्प खोज्दैछन् ।
त्यसैले अहिले सोलिड स्टेट, सोडियम आयन जस्ता नयाँ ब्याट्रीमा उत्पादकहरू केन्द्रित भएका छन् । साथै, एलएफपी ब्याट्रीमा सुधार गर्दै नयाँ जेनेरेसन पनि आउन थालेका छन् । यस्तोमा लिथियम आयन ब्याट्री भएको कार के हुन्छ होला भन्ने चिन्ता उपभोक्तामा बढाउन सक्छ । तर, यो चिन्ता गर्नु पर्ने विषय होइन ।
अहिले चलिरहेको खोज
चीनदेखि जापानसम्मका ब्याट्री उत्पादकहरू नयाँ ब्याट्रीको खोजीमा दत्तचित्त भएर लागेका छन् । त्यसमध्ये दुई ब्याट्रीको खोज लगभग पूरा हुने अवस्थामा पुगेको देखिन्छ ।

सोडियम आयन ब्याट्री : विश्वकै ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक सीएटीएलले ‘नेक्स्ट्रा’ नामबाट सोडियम आयन ब्याट्री ल्याएको छ । यो ब्याट्री लिथियम आयनको तुलनामा सस्तो र सुरक्षित मानिन्छ । अघिल्लो वर्षको अन्तिमबाटै केही उत्पादकको सोडियम आयन ब्याट्री साना कारमा प्रयोग हुन थालिसकेको छ । ऊर्जा घनत्व केही कम हुने भएको कारण यसको प्रयोग ठूला एसयूभीमा सुरू भएको छैन ।
सोलिड स्टेट ब्याट्री : सर्वाधिक चासो र चर्चामा रहेको ब्याट्री सोलिड स्टेट हो । अबको एक वर्ष भित्र प्रयोगमा आउने अनुमान गरिएको यो ब्याट्रीमा जापानी कम्पनीहरू पनि जोडतोडले लागेका छन् । टोयोटादेखि सुजुकीसम्मका कम्पनीले यो ब्याट्री बनाउन लागि परेका छन् । चिनियाँ उत्पादक सीएटीएल र बीवाइडीले पनि सोलिड स्टेट ब्याट्रीको खोजमा ठूलो लगानी गरेका छन् ।

पुराना कार के होला ?
अहिले प्रयोग भएका लिथियम आयन ब्याट्रीयुक्त कार नयाँ ब्याट्री आएसँगै के हुन्छ भन्ने चासो धेरैमा पाइन्छ । पुराना कारको लागि आवश्यक ब्याट्री बन्ने नै छ । नयाँ टेक्नोलोजीका ब्याट्रीले धेरै रेन्ज दिन सक्छन् । पुराना गाडीको रेन्ज त्यसको तुलनामा कम लाग्छ । तर, हाम्रो जस्तो देशको लागि पुग्दो रेन्ज आउँछ नै ।
त्यसैगरी, नयाँ टेक्नोलोजीको ब्याट्री पनि राख्न मिल्ने हुन्छ । अहिले नै पेट्रोल कारलाई ईभीमा परिमार्जन गर्न मिल्ने भइसकेको छ । यस्तोमा ब्याट्री परिवर्तन सहज हुने अनुमान गर्न सकिन्छ । अझ कम्पनीहरूले ब्याट्री स्वापिङ टेक्नोलोजी मार्फत पुराना ब्याट्री रिप्लेस नै गर्न सक्ने देखिन्छ । त्यसैले पुरानो टेक्नोलोजी (लिथियम आयन) ब्याट्री प्रयोग भएका कारधनी आत्तिनु पर्ने अवस्था रहँदैन ।


