काठमाडौं । सवारीसाधनले गर्ने प्रदूषण कम गर्न विश्वभर प्रदूषण मापदण्ड कायम हुँदै आएको छ । जुन समयानुकुल परिमार्जन हुने गरेको छ । भारतमा २०२० अप्रिलदेखि भारत स्ट्यान्डर्ड ६ का सावरीमात्र दर्ता गर्न पाइने छ । त्यस्तै नेपाल सरकारले पनि नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ लाई स्तरोन्नती गर्ने तयारी गरिरहेको छ ।
विश्वभर यूरो स्ट्यान्डर्डलाई धेरै देशहरुले मान्यता दिने गरेका छन् । त्यसैलाई आधार मानेर आ–आफ्नो देशमा मापदण्ड तय गरेका हुन्छन् । नेपाल आउने सवारी अधिकांश भारत निर्मित हुने गरेका छन् ।
बीएस–६ लाई आधार मानेर नेपालले अन्य देशका प्रदूषण मापदण्ड समेत हेरेर नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ को स्तरोन्नती गर्ने तयारीमा सरकार लागेको छ । बीएस–६ प्रदूषण सँग सम्बन्धीत छ ।
बीएस–६ इन्जिनयुक्त सवारीमा विशेष खालको इन्धन फिल्टर प्रयोग गरिएको हुन्छ । यो इन्जिनले ८० देखि ९० प्रतिशत पीएम २.५ सम्मका कण रोकेर नाइट्रोजन अक्साइडलाई नियन्त्रण गर्दछ । यो भनेको सवारीले गर्ने प्रदूषण कम हुनु हो ।
बीएस–६ युक्त इन्जिनले गाडीले गर्ने प्रदूषण ०.०५ प्रतिशतबाट ०.०१ प्रतिशतमा सीमित गर्दछ । यसले गाडीले गर्ने प्रदूषण हावामा निक्कै कममात्र मिसिने छ । बीएस–६ इन्जिन भएको डिजेल÷पेट्रोल गाडीले पर्ने प्रदूषण ७५ प्रतिशत कम हुन्छ ।
बीएस–४ को तुलनामा बीएस–६ इन्जिन महंगो हुन्छ । तर यसले गर्ने प्रदूषण भने निक्कै कम हुन्छ । बीएस–३ र ४ इन्धनमा सल्फरको मात्रा ५० पीपीएमसम्म हुन्छ भने बीएस–६ स्तरको तेलमा सल्फर जम्मा १० पीपीएम हुन्छ । यसले प्रदूषण निक्कै कम हुन्छ ।
नेपालमा लागु भएको यूरो ३ सरहको इन्जिनले गर्ने प्रदूषणको तुलनामा यूरो ४ वा ६ ले गर्ने प्रदूषण निक्कै कम हुने भएकाले प्रदूषण मापदण्ड स्तरोन्ती आवश्यक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले बताए । सवारी साधनले गर्ने प्रदूषण कम गर्दै वातावारण जोगाउन प्रदूषण मापदण्ड स्तरोन्नती आवश्यक रहेको उनको भनाई छ ।
बीएस–६ को इन्जिन केही महंगो हुन्छ । यसको मुख्य कारण हो इन्जिनको इलेक्ट्रीकल वायरिङ नै नयाँ बनाउनु पर्छ । बीएस–६ इन्जिनले पावर बढाउने र प्रदूषण कम गर्नेछ । नयाँ प्रविधि भएकाले बीएस–६ इन्जिनयुक्त गाडीको मूल्य बीएस–४ भन्दा १५ प्रतिशतसम्म बढी पर्छ । त्यस्तै बीएस–६ स्ट्यान्डर्डको इन्धनको मूल्य पनि अहिलेको तुलनामा १.५ देखि २ रुपैयाँसम्म महंगो पर्छ ।
बीएस–६ इन्जिनयुक्त गाडीले माइलेज समेत बढी दिने सवारी उत्पादकहरुले बताएका छन् ।
नेपालमा पनि सवारी प्रदूषण मापदण्ड स्तरोन्नती गर्ने सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल भएका छन् । अहिले नेपालले यूरो–३ लाई स्तरोन्ती गरेर यूरो–४ लागु गर्ने तयारी गरि रहेको छ ।
२०२० अप्रिलमा भारतमा बीएस–६ लागु भएपछि नेपालमा पनि स्वतः बीएस–६ का सवारी आउने छन् । किन कि भारतले देशका सबै सवारी उत्पादकहरुलाई बीएस–६ भन्दा तलका इन्जिन उत्पादनमै प्रतिबन्ध लगाउने भनेको छ ।


