काठमाडौं । यात्री मोटरसाइलको नयाँ कन्सेप्ट P2 उत्पादन चरणमा प्रवेश गरेको छ । उत्पादक कम्पनीले P2 को सम्पूर्ण परीक्षण सफलतापूर्वक सकेर उत्पादनमा प्रवेश गरेको जनाएको हो ।
यात्री टिमले आफ्ना दुई स्कुटरलाई जिरीमा परीक्षण गरेको तस्बिर सार्वजनिक गर्दै अब उत्पादनमा प्रवेश गर्न लागेको घोषणा गरेको हो ।
यात्री मोटरसाइकलमा सिप्रदी ट्रेडिङले लगानी गरेसँगै नयाँ प्रोजेक्टले गति लिएको थियो । कम्पनीले तयार P2 कन्सेप्ट स्कुटरको हो । अब छिट्टै बजारमा ल्याउने गरी काम भइरहेको कम्पनीले आफ्नो सामाजिक संजाल फेसबुक पेजबाट जानकारी गराएको छ ।
P2 को यहाँसम्मको यात्रा निकै लामो रहेको बताउँदै कम्पनीले आफ्नो समाजिक सामाजिक संजालमा लेखेको छ, ‘अनगिन्ति किलोमिटर परीक्षण, टीमको रातभरको मेहनत र चलिरहेको काममा सन्तुष्ट नभएर निरन्तर काम गर्ने समर्पित टोलीको कारण कम्पनी अब प्रि प्रोडक्सनमा प्रवेश गरेको छ ।’
कम्पनीले अब छिट्टै यो स्कुटर बाहिर आउने जनाएको छ । सम्भवतः आउँदै गरेको नाडा अटो शो २०२६ मा यसको प्रोडक्सन मोडल बाहिर आउने अनुमान गरिएको छ ।
काठमाडौं वरपरका डाँडाहरुमा परीक्षणमा बेलाबखत देखिएको यात्रीको पहिलो स्कुटरको तस्बिरहरू बाहिर आएका थिए । तस्बिरमा देखिए अनुसार P2 स्कुटर पूर्णतः स्पोर्टी डिजाइनमा देखिन्छ ।
कम्पनीले केही समय अगाडि सार्वजनिक गरेको टिजरमा देखिए जस्तै मिड माउन्ट मोटर देखिएको छ । अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिएको छ । सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरे जस्तो देखिन्छ । यसमा सिट पनि निकै फराकिलो भएको अनुमान गर्न सकिन्छ ।
यात्रीले यसमा १२ इन्चको अलोय ह्वील प्रयोग गरेको छ । आल्मुनियम स्वीङ आर्म प्रयोग भएको देखिन्छ । त्यस्तै डबल साइडेड स्प्रिङ सस्पेन्सन समेत देखिन्छ । स्कुटरमा सार्प एजहरूको प्रयोग र फ्लोर वोर्ड पनि फराकिलो भएको अनुमान गर्न सकिन्छ ।


